तंग्रिँदै होटल व्यवसाय

आन्दोलनको छायाबाट बाहिर निस्किँदै पर्यटन, अकुपेन्सी ९० प्रतिशतसम्म


काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेपछि देशभरका होटलहरूको अकुपेन्सीमा सुधार आएको छ । नयाँ वर्ष र क्रिसमशको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको होटलमा चाप बढेको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा ठूलो धक्का पु¥याएको थियो। होटल संघ नेपाल (हान) का अनुसार उक्त समयमा देशभरका करिब दुई दर्जन होटलमा २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको थियो।

जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाँदा पर्यटक आगमन ठप्प प्रायः भएको थियो। तर, अवस्था सामान्यतर्फ फर्किएसँगै पर्यटन क्षेत्रमा फेरि चहलपहल बढेको हो । नयाँ वर्ष र क्रिसमशको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको होटलमा चाप रहेको होटल संघ नेपाल (हान) का महासचिव सुजन शाक्यले बताएका छन् ।

‘पर्यटकीय नगरी पोखरा, नगरकोट, सौराहा, भैरहवा लगायतका गन्तव्यहरुमा पर्यटकीय गतिविधि बढ्दा होटलमा राम्रो अकुपेन्सी रहेको छ । यी गन्तव्यहरुमा हाल करिब ९० प्रतिशत होटल अकुपेन्सी रहेको छ ।’ उनले भने, ‘जेनजी आन्दोलका कारण सुस्ताएका होटल अकुपेन्सी केही समयपछि व्यवसायमा राम्रो चहलपहल देखिएको छ ।’

‘अकुपेन्सी बढ्नुले व्यवसायी मात्र होइन, समग्र पर्यटन क्षेत्रलाई नै सकारात्मक सन्देश दिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुले पनि होटल अकुपेन्सीमा राम्रो सुधार ल्याएको छ । समग्र मुलुकमा हेर्ने हो भने पनि ७० प्रतिशत होटल अकुपेन्सी रहेको छ ’ शाक्यले भने ।

शाक्यका अनुसार, धेरैजसो मेला महोत्सवहरु पनि अहिलेको समयमा नै हुने गर्छ । ती मेला महोत्सवहरुले पनि आन्तरिक पर्यटक भित्र्याउनुका साथै होटल अकुपेन्सी बढाउने गर्छ । नयाँ वर्षमा बाह्य पर्यटकहरु त्यत्ति धेरै हुँदैनन्, पछिल्लो समय नेपालीहरुले पनि क्रिसमश र अँग्रेजी नयाँ वर्ष मनाउने गर्छन् यसो हुँदा पर्यटकको संख्या बढेको हो ।

संघका अनुसार आन्दोलनको क्रममा देशभरिका करिब २ दर्जन होटलमा २५ अर्ब रुपैयाँको नोक्सानी भएको थियो । आन्दोलनमा काठमाडौँ, पोखरा, बुटवल भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी लगायत क्षेत्रमा सञ्चालित होटलहरुमा गम्भीर क्षति पुगेको थियो, सो विषम् परिस्थितीबाट व्यवसायीहरु विस्तारै आफ्नो लयमा फकिएर्को उनले बताए ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी विभिन्न पाँचतारे होटलहरुले विशेष प्याकेज, सांगीतिक कार्यक्रम, डिनर नाइट तथा मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएकाले पर्यटकको आकर्षण बढेको हो । हाल होटलहरुको अकुपेन्सी बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकले बढाएको होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले बताएका छन् ।

व्यवसायीहरुका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै होटल, रेष्टुरेन्ट तथा मनोरञ्जनस्थलमा चहलपहल बढेको छ । होटलहरूमा अकुपेन्सी ७० देखि ९० प्रतिशतसम्म पुगेको उनले बताएका छन् ।
उनका अनुसार, कतिपय लोकप्रिय गन्तव्यमा रहेका होटलहरू पूर्ण रूपमा बुक भएका छन् । विशेष पोखरा, नगरकोट, सौराहा, लुम्बिनी, धुलिखेललगायतका स्थानहरुमा होटल अकुपेन्सीमा राम्रो सुधार भएको हो ।
यही अवस्था कायम रह्यो भने आगामी दिनमा पर्यटन व्यवसाय थप चलायमान हुने अपेक्षा गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, सेवाको गुणस्तरमा सुधार र सुरक्षित यात्रा सुनिश्चित गर्न सकेमा यस्ता अवसरलाई दीर्घकालीन लाभमा बदल्न सकिने चुकेको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको सौराहामा पनि पर्यटकको आगमन राम्रो रहेको छ । अँग्रजी नयाँ वर्षमा नेपालीहरु पनि घुम्न निस्किने भएकाले राम्रो बुकिङ रहेको र हात्ती महोत्सव पनि भर्खरै सकिएको र नयाँ वर्ष भएकाले समग्रमा होटल अकुपेन्सी रहेको अध्यक्ष चुकेले बताए ।

विशेषगरी अँग्रेजी नयाँ वर्षमा पोखराका होटलहरु भरिभराउ भएका छन् । क्रिसमसदेखि नै पोखरामा उल्लेख्य पर्यटकहरु रहेका छन् । अन्य सिजनमा पनि पर्यटक हुने पोखरामा डिसेम्बर र जनवरीमा भने उल्लेख्य रहने उनले बताए ।

११ महिनामा १० लाख ६० हजार विदेशी पर्यटक भित्रिए

सन् २०२५ को ११ महिनामा कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । ११ महिनामा पर्यटक आगमन दृष्टिले पहिलो नम्बरमा भारत छ । भातरबाट मात्र २ लाख ६२ हजार ३४५ जना आएका छन् । दोस्रो स्थानमा रहेको छ अमेरिका । ११ महिनामा एक लाख ५ हजार २३९ अमेरिकी नेपाल भ्रमणमा आएका छन् ।

त्यस्तै, तेस्रो नम्बरमा रहेको चीनबाट ८६ हजार ८०० जना आएका छन् । बेलायतबाट ५४ हजार ४५०, बंगलादेश ५० हजार ९४०, अस्ट्रेलियाबाट ४४ हजार ३७७, श्रीलंकाबाट ३६ हजार ९६८, जर्मनीबाट २८ हजार ९७५, थाइल्यान्डबाट २५ हजार ८२४ र फ्रान्सबाट २३ हजार ५०२ जना आएको बोर्डको तथ्यांक छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।