काठमाडौँ । कोभिड–१९ महामारीका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्किएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन कोभिड–१९ पछिको हालसम्मकै उच्च संख्या हो ।
सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल आएको भए पनि कोभिडका कारण सन् २०२० मा यो संख्या घटेर २ लाख ३० हजार ८५ मा सीमित भएको थियो। त्यसैगरी सन् २०२१ मा हालसम्मकै न्यून १ लाख ४९ हजार ८३३ पर्यटक मात्र नेपाल आएका थिए।
त्यसपछि पर्यटन क्षेत्रमा क्रमशः सुधार देखिँदै सन् २०२२ मा ६ लाख १४ हजार १४८, सन् २०२३ मा १० लाख १४ हजार ८७६ र सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ विदेशी पर्यटक नेपाल आएका थिए।
गत वर्षको तुलनामा सन् २०२५ मा विदेशी पर्यटक आगमन करिब १० हजारले बढेको बोर्डले जनाएको छ। वर्षको सुरुवाती महिनादेखि नै पर्यटक आगमन बढ्दै गए पनि भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’ र बाढीका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परेको थियो ।
ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्म शेर्पाका अनुसार, यस वर्ष पर्यटक संख्या अझै बढ्ने अपेक्षा गरिएको थियो। तर मुख्य पर्यटकीय सिजनमै आन्दोलन भएपछि अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश गएकाले धेरै पर्यटक त्रसित बने र होटल बुकिङसमेत रद्द भएका कारण अपेक्षित संख्यामा पर्यटक आउन नसकेको उनको भनाइ छ।
नेपालको पर्यटन आम्दानीको प्रमुख आधार मानिने पर्वतीय पर्यटन (हिमाल आरोहण) क्षेत्रमा पनि उल्लेखनीय सुधार देखिएको छ। नेपालमा साना–ठूला गरी ३ हजारभन्दा बढी हिमाल तथा पर्वत रहेका छन्, जसबाट प्राप्त हुने रोयल्टी संकलनमा वृद्धि भएको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार सन् २०२५ मा हिमाल आरोहणतर्फबाट मात्र १ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। शरद ऋतुमा पर्वतारोहण अनुमति लिँदा मात्रै २६ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन भएको उनले जानकारी दिए।
गौतमले पर्वतीय पर्यटन नेपालको पर्यटन क्षेत्रको मेरुदण्ड भएको बताउँदै प्रविधिको प्रयोग, पूर्वाधार विकास, सहज पहुँच र सचेतनामा ध्यान दिइए यसले राष्ट्रिय अर्थतन्त्र र स्थानीय रोजगारीमा ठूलो योगदान दिने बताए।
पर्यटक आवागमन बढेसँगै होटल अकुपेन्सीमा पनि सुधार देखिएको होटल संघ नेपाल (हान) का महासचिव सुजन शाक्यले बताएका छन् । ‘कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्किँदै छ । गत वर्षको तुलनामा यस वर्ष पर्यटक आवागमन राम्रो भएको छ,’ उनले भने । यद्यपि, वर्षको बीचमा भएको आन्दोलनले पर्यटनको पिक सिजनमै नकारात्मक असर पारेको शाक्यको भनाइ छ ।
‘आन्दोलन नभएको भए सन् २०२४ को तुलनामा करिब दोब्बर पर्यटक भित्रिन्थे,’ उनले बताए । उनका अनुसार आन्दोलनका कारण होटल क्षेत्रले मात्र २५ अर्ब रुपैयाँभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो ।
‘उक्त विषम परिस्थितिबाट होटलहरू विस्तारै लयमा फर्किँदै छन् । यदि अब यसैगरी पर्यटक आवागमन बढिरहे व्यवसायीहरू छिट्टै पुनः सामान्य अवस्थामा फर्किनेछन्,’ शाक्यले भने ।










प्रतिक्रिया