काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ वर्षका लागि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै उक्त ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको जानकारी दिएको हो।
यस ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (ङ)’ नामक ऋणपत्र खरिदका लागि आज पुस २३ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणाली सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ। यसको निष्कासन पनि आज नै गरिनेछ भने ऋणपत्र २०८३ पुस २३ गते परिपक्व हुनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने व्यवस्था मिलाइएको छ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिनका लागि प्रयोग गर्न सक्नेछन्।
सूचना अनुसार बोलकबोलमा सहभागी हुँदा ब्याजदर दशमलव पछिको ४ अंकसम्म उल्लेख गर्नुपर्नेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा एकल ब्याजदर कायम गरी सोही दर वा सोभन्दा कम दरमा बोल गर्नेहरूलाई प्राथमिकता दिइनेछ। यदि समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा ऋणपत्र बाँडफाँट गरिने बैंकले जनाएको छ।












प्रतिक्रिया