कर्जा असुलीमा बैंकहरूलाई सकस, कस्तो आउला दोस्रो त्रैमासको वित्तीय विवरण ?


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सुधार्न जोडतोडले लागेपनि कर्जा असुली गर्न बैंकहरूलाई सकस भएको छ । जसले बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणमा समेत दवाव पर्ने देखिएको छ । अर्थतन्त्रमा भएको सुस्तता लम्बिँदै जाँदा बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली गर्न सकस भएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफामा १८ प्रतिशतले गिरावट आएको थियो भने निष्क्रिय कर्जा औसतमा ४.८६ प्रतिशतसम्म पुगेको थियो । दोस्रो त्रैमासमा कर्जा असुलीमा सुधार नहुँदा यो प्रतिशत झनै बढ्ने बैंकरहरूको चिन्ता छ । ‘हालसम्मको रिपोर्टले राम्रो सन्देश दिएको छैन,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले नोटबजारसँग भने ।

पछिल्ला महिनाहरूमा कर्जाको माग हुन सकेको छैन । बैंकहरूले पनि कर्जा दिनेभन्दा असुली गर्न समय दिइरहेका छन् । तर त्यसमा कुनै प्रगति हुन नसकेको बैंकरहरूको बुझाइ छ ।

अर्थतन्त्रको सुस्तताका कारण समग्र क्षेत्रलाई असर परिरहँदा बैंकिङ क्षेत्रमा पनि त्यसको असर परेको हो । जसले गर्दा बैंकहरूको नाफादेखि लाभांश वितरण क्षमतासम्म दवाव परिरहेको छ ।

चालु आवको सुरुवाती महिनामा अर्थतन्त्र चलायमान हुने र सबै क्षेत्रमा राम्रो सुधार हुने अपेक्षा गरिएपनि भदौ २३ र २४ को विध्वंशात्मक प्रदर्शनले त्यसो हुन पाएन । विध्वंशपछि असुरक्षासँगै राजनीतिक अनिश्चय समेतको अवस्था आउँदा अर्थतन्त्रको पिल्लर मानिने निजी क्षेत्रमा पनि समस्या प¥यो । जसले औद्योगिक क्षेत्रमा समेत समस्या पारेको छ ।

औद्योगिक क्षेत्रमा उत्पादन घटेको, बिक्री घटेको र नाफा समेत घटेको अवस्था रहेको निजी क्षेत्रले बताउँदै आएका छन् । यी सबै समस्याको चक्रीय प्रभाव अर्थतन्त्र र बैंकिङ क्षेत्रमा परेको जानकारहरू बताउँछन् । सोही कारण चालु आवको दोस्रो वित्तीय विवरण सुखद् आउनेमा शंका रहेको बैंकरहरूको भनाइ छ ।

अहिले निजी क्षेत्रले राजनीतिक सुनिश्चितता र सुरक्षाको सुनिश्चितता भएमा निजी क्षेत्रको मनोबल बढ्ने बताउँदै आएका छन् ।

तर निर्वाचनको अन्यौलताका कारण निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन । अर्कातिर, कर्जा असुलीमा गएका बैंकरहरूमाथि दुव्र्यवहार तथा कुटपिटका घटनाहरू हुँदा पनि असुलीमा समस्या रहेको बैंकिङ क्षेत्रको भनाइ छ ।

स्थानीय तह र सुरक्षा निकायबाट समेत सुरक्षा पाउन नसकेको महशुस गरेको भन्दै एक बैंकरले भने, ऋणीलाई निर्देशनात्मक सुझाव दिन हिच्किचाउनुपर्ने अवस्था छ । स्वस्फूर्त ऋणीहरूले कर्जा तिर्ने सम्भावना पनि छैन ।

सावाँमात्र हैन पुस मसान्तसम्मका लागि ब्याज तिर्न पनि ऋणीहरू तयार नभएको बैंकरको अनुभव छ । उनीहरूले समय सारिदिनका लागि आग्रह गर्न थालेका छन् ।

पछिल्लो समय निर्माण क्षेत्र केही चलायमान भएपनि त्यसले कर्जा असुलीमा सहयोग हुन नसकेको बैंकर बताउँछन् । विस्तारै भुक्तानी समेत भएको अवस्थामा ऋणीहरूले कर्जा असुली गर्न तत्पर देखिने ती बैंकरको भनाइ छ ।

अहिले ऋण तिर्नका लागि ऋण लिनुपर्ने बाध्यता सिर्जना भएको छ । ऋणीको ऋण तिर्न सक्ने क्षमता नै खल्बलिँदा त्यसको असर असुलीमा परेको हो । सोही कारण बैंकबाट कर्जा विस्तार अपेक्षाकृत बढ्न सकेको छैन ।

अर्का एक बैंकरले स्थानीय तहले पनि बैंक वित्तीय संस्थाको कर्जा प्रवाह तथा असुलीमा सहजीकरण नगर्दा समस्या झनै चुलिएको बताए । बैंकसँग जोडिएका कुनै पनि किसिमका काममा स्थानीय तहहरुले स्वतस्फुर्त रुपमा सेवा नदिँदा समस्या हुने गरेको ती बैंकरको भनाई छ ।

२०८२ कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब २२ अर्ब ३८ करोड रुपैयाँले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुग्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ६५ अर्ब ४ करोड रुपैयाँले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ ।

राष्ट्र बैंकको यो तथ्यांकले निक्षेप ३.१ प्रतिशत बढ्दा कर्जा १.२ प्रतिशतले मात्रै बढेको देखाउँछ । अर्थतन्त्रले लय नसमात्दासम्म कर्जा विस्तार बढ्न नसकेको जानकार बताउँछन् । सरकारले नै कर्जा बढाउनका लागि आक्रामक नीति लिनुपर्नेमा उनीहरूको जोड छ । केन्द्रीय बैंकले नीतिमा लचकता अपनाउँदामात्र नपुग्ने भन्दै जानकारहरू सरकारले कुनै क्षेत्रलाई प्रर्वद्धन गर्ने गरी नीति ल्याउन सकेमा कर्जा प्रवाह बढ्ने र अर्थतन्त्रमा त्यसले क्रमशः सुधार ल्याउने बताउँछन् ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।