विप्रेषण आप्रवाह ३५ प्रतिशतले बढ्यो, पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार रेमिट्यान्स बढेर ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । २०८२ को पाँच महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १५ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।