काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा चाँदीको चरम अभाव देखिन थालेको छ । सुनको मूल्य आकाशिएसँगै खरिदकर्ताहरु चाँदी तर्फ आकर्षित हुँदा माग ह्वातै बढेको हो ।
बजारमा खरिदकर्ताहरुले चाँदीको माग बढाउँदा र मागअनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको व्यवसायीहरु बताउँछन् ।
भारतीय बजारमा चाँदीको माग ह्वात्तै बढेका कारण त्यसको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरु बताउँछन् । नेपाल र भारत दुवैले चाँदी आयात गर्ने प्रमुख गन्तव्य यूएई हो । युएईबाट नेपालको भन्दा ठुलो मात्रामा भारतीय बजार सप्लायर्सले चाँदी आयात गर्ने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् ।
जसकारण नेपाली सप्लायर्सहरु भन्दा भारतीय सप्लायर्सहरु युएईको प्राथमितामा परेका छन्, जसले चाँदी नेपालीहरुले चाँदी पाउन मुस्किल भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चाँदीलाई भविष्यमुखी लगानी र रणनीतिक धातुका रूपमा हेर्न थालिएकाले विश्वभर नै यसको भण्डारण बढेको उनी बताउँछन् । शक्ति राष्ट्रहरूले स्टक बढाउँदा र भारतीय लगानीकर्ताहरू यसतर्फ आकर्षित हुँदा नेपालमा दैनिक ४÷५ सय किलो हुने खपत धान्न समेत मुस्किल परिरहेको उनले बताए ।
उनका अनुसार, अन्तर्राष्ट्रिय बजारमा चाँदीको अभाव र मूल्यमा आएको छलाङको असर स्वदेशी बजारमा पनि परेको छ । चाँदीको उपलब्धता नभएर व्यवसायीले चाँदी बिक्री गर्न पाएका छैनन् । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमै चाँदीको उपलब्धता निकै कमजोर र मूल्यसमेत अस्वाभाविक रुपमा बढ्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यको भनाइ छ ।
उनका अनुसार पुस महिनामा खासै चाँदीको बजार चम्किने सिजन होइन, तर अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावका कारण नेपाली उपभोक्ताले सम्पतिको रुपमा घरमा चाँदी भण्डारण गर्न थालेका छन् । जसले गर्दा खरिदकर्ताको संख्या अप्रत्यासित रुपमा बढेको छ ।
विशेषगरी गहनाको रुपमा प्रयोग हुँदै आएको चाँदीको प्रयोग पछिल्लो समयमा औद्योगिक धातु, सौर्य प्यानल, विद्युतीय उपकरण, विभिन्न प्रविधिलगायत यसको प्रयोग बढेकोले विश्व बजारमा नै चाँदीको उपलब्धता कमजोर बन्दै गएको जानकारहरु बताउँछन् ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले समेत चाँदीमा लचक नीति अपनाए मासिक रूपमा पनि आयात गर्न सकिने व्यवस्था गरेको छ । हरेक दिन आयात गर्दा लागत बढी पर्ने भएकाले मासिक एक पटकको आयातमा पनि सटही सुविधाको व्यवस्था पनि गरेको छ ।
महिनाका एक पटक २० लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा लगायत बनाउन औद्योगिक कच्चापदार्थका रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सोही बराबर अन्य मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको छ ।
सिटिजन्स बैंकका सुचना अधिकारी नारायणराज अधिकारीका अनुसार सुनको मूल्य धेरै भएपछि सर्वसाधारणले चाँदीलाई विकल्पको रुपमा रोजेका हुन् । उनका अनुसार नेपाली बजारमा चाँदीको माग एक्कासी बढेको कारण पूर्ति गर्न नसकिएको हो । गत वर्षका तुलनामा चाँदी आयात बढी भएपनि माग अत्याधिक बढेकाले अभाव देखिएको उनले बताए ।
‘सुनको मूल्य अत्याधिक बढेसँगै उपभोक्ताहरु चाँदी तर्फ आकर्षित भएका छन् । नेपालमा सर्वसाधारणले सुन किन्न सक्ने अवस्था कठिन बन्दा सर्वसाधारणको आकर्षण चाँदीतर्फ बढेको हो ।’ उनले भने, ‘सुनसँगै चाँदीको मूल्यमा पनि क्रमिक उच्च वृद्धि भइरहेको छ, यसो हुँदा चाँदी किनेर राख्नेहरु बढेका छन् । पहिले तोलामा कारोबार हुने चाँदी अहिले मानिसहरुले किलोका दरले खोज्न थालेका छन् । बैंकहरुले आयात गरिरहेपनि माग धेरै हुँदा अभाव देखिएको हो ।’
चाँदी आयातको पाँच वर्षे तथ्यांक
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालमा यूएई, इटाली र भारतबाट एक हजार ३३४ किलोग्राम चाँदी आयात भएको छ । उक्त परिमाणको चाँदी आयात गर्दा २० करोड १४ लाख रुपैयाँ बाहिरीएको हो । सो चाँदी आयात गर्दा आयातकर्ताले २ करोड १ लाख रुपैयाँ राजस्व बुझाएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
त्यस्तै, गत आव २०८१/८२ को सोही अवधीमा २ लाख १० हजार रुपैयाँमा १ किलो १०३ ग्राम चाँदी आयात भएको थियो । उक्त चाँदी आयातबाट ३१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
अघिल्लो आव २०८०/८१ को सोही अवधीमा ११ करोड ४९ लाख रुपैयाँमा एक हजार १९८ किलो चाँदी भित्रिएको थियो भने आव २०७९/८० मा ३१ करोड १३ लाख रुपैयाँमा ३ हजार ४०३ किलोग्राम र आव २०७८/७९ मा १२ अर्ब २५ करोड १८ लाख रुपैयाँको एक लाख ३२ हजार किलो चाँदी आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया