सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश–२०८२’ स्वीकृत गरेको छ । योसँगै दुई दशकदेखि योजना बनेर पनि कार्यान्वयन हुन नसकेको योजना अघि बढ्ने भएको हो ।
सरकारले २०६० सालमा नै पेट्रोलमा इथानोल मिसाउने कुरा अघि सारे पनि राजनितिक अस्थिरताका कारण यो योजना छाँयामा परेको थियो । तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इथानोल प्रयोग गर्न दिने निर्णय गरेसँगै यसले पूर्णता पाउने भएको छ ।
सोही विषयमा इथानोलको प्रयोग गर्न नेपाल आयाल निगमको तयारी, बितरण प्रणाली तथा इथानोल मिश्रणका बारेमा निगमका प्रबन्ध निर्देशक डा.चण्डिका भट्टसँग नोटबजार सम्बाददाता अर्चना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने निर्णय गरेको छ । यसलाई पूर्ण रूपमा लागू गर्न निगमको तयारी के छ ?
पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश २०८२ स्वीकृत भइसकेको छ, यद्यपि लिखित रूपमा हामीकहाँ आउन बाँकी छ । हाम्रो पहिलो काम इथानोलको गुणस्तर मापदण्ड निर्धारण गर्नु हो, जसका लागि हामीले नेपाल गुणस्तर विभागलाई अनुरोध गर्दैछौँ । गुणस्तर विभागको मापदण्ड अनुसार नै हामीले मापदण्ड तयार गर्छौँ ।
दोस्रो, नेपालमा इथानोलको उपलब्धता कति छ भन्ने यकिन गर्नुपर्नेछ । हाल चिनी मिलहरूले दैनिक करिब ५० हजार लिटर इथानोल उत्पादन गर्न सक्ने देखिएको छ । तर, उनीहरूले उत्पादन गर्ने इथानोल ९२–९३ प्रतिशत मात्र शुद्ध हुन्छ, जबकि हामीलाई ९९.५ प्रतिशत शुद्धता चाहिन्छ ।
त्यसकारण हामीलाई चिनि मिलहरुले दिएको इथानोलले पुग्छ कि पुग्दैन यकिन गरी उपलब्ध परिमाणका आधारमा पेट्रोलमा २ प्रतिशतबाट सुरु गरेर विस्तारै १० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने लक्ष्यमा जान्छौँ ।
निगमसँग इथानोल भण्डारण र मिश्रणका लागि आवश्यक पूर्वाधार तयार छ ?
हामीसँग ट्याङ्कीहरू उपलब्ध छन् । इिथानोल मिश्रण गर्न ‘ब्लेन्डिङ पम्प’ र मेसिनहरूको आवश्यकता पर्छ । यो खासै महंगो र झन्झटिलो छैन । जसले गर्दा यो प्रविधि जडान गर्न धेरै समय लाग्दैन । करिब एक महिनाभित्र हामी काम सम्पन्न गर्न सक्छौँ ।
अहिले भएका ट्याङ्कीमा इथानोलले खिया लगाउने वा ओस सोस्ने जोखिम हुन्छ भनिन्छ, यसको समाधान कसरी गर्नुहुन्छ ?
हो, इथानोल ‘हाइग्रोस्कोपिक’ (हावाबाट ओस सोस्ने) प्रकृतिको हुन्छ । ०.५ प्रतिशत भन्दा धेरै पानीको मात्रा बढ्यो भने इन्धन काम नलाग्ने हुन सक्छ । त्यसैले हामी स्टोरेज ट्याङ्कमा आन्तरिक कोटिङ गर्छौँ र ‘मोइस्चर ट्र्याप’ गर्ने प्रणाली जडान गर्छौँ । यसले ९९.५ प्रतिशत शुद्धता कायम राख्न मद्दत गर्छ ।
यो प्रक्रिया कहिलेदेखि पूर्ण रूपमा सुरु होला ?
इथानोल बिक्रेताहरु आउनु भयो भने हामीले एक महिनामै मेसिन जडान गर्न सक्छौँ, तर मुख्य कुरा उत्पादकहरूले ९९.५% शुद्धताको इथानोल दिनका लागि थप प्लान्ट लगाउनुपर्ने हुन्छ । यसका लागि उद्योगीहरूलाई करिब एक देखि डेढ वर्ष लाग्न सक्छ । त्यसैले उत्पादकहरुसँग सम्झौता भएाके एक वर्षभित्र हामीले खोजेको इथानोल पाउछौँ । त्यसपछि ब्लेन्डिङ सुरु हुन्छ ।
के इथानोल मिश्रणले पेट्रोलको मूल्य सस्तो हुन्छ ?
हाम्रो मूल्य निर्धारण समिति छ । त्यो समितिले तोके बमोजिम हु्न्छ । यद्यपी मूल्य केही हदसम्म सस्तो नै पर्छ । किनभने अहिले पेट्रोलको मूल्य १६० रुपैयाँ हाराहारी छ । हालको हिसाबले चिनी मिलबाट इथानोल प्रति लिटर ११० रुपैयाँसम्ममा प्राप्त हुन्छ ।
५० रुपैयाँको फरक देखिए पनि सरकारले लगाउने कर (भ्याट, अन्तःशुल्क आदि) ले मूल्य निर्धारण गर्छ । यदि सरकारले वातावरणमैत्री इन्धनलाई प्रोत्साहन गर्न करमा केही सहुलियत दियो भने पेट्रोल अहिलेको भन्दा १–२ रुपैयाँ सस्तो पर्न सक्छ ।
तर, इथानोलको प्रयोगलाई पेट्रोलको भाउ घटबढमा मात्रै नहेरी यसलाई रोजगारी, आयात प्रतिस्थापन, विदेशी मुद्राको सञ्चितीमा पुर्याउने योगदानको पाटोबाट पनि हेर्नुपर्छ ।
चिनि उद्योगहरु सीमित भएका कारण इथानोल कै मूल्य बढ्ने सम्भावना पनि त हुन्छ होला नि ?
उहाँहरुले मूल्य बढाउनै पाउनु हुन्न । मैले माथि भने जस्तै हाम्रो मूल्य निर्धारण समिति हुन्छ । उसले नै मूल्य निर्धारण गर्ने हो । त्यही मूल्यमा उद्योगीले हामीलाई दिनुपर्ने हुन्छ ।
मूल्य निर्धारण समितिले निर्धारण गरेको मूल्यमा उहाँहरुले हामीलाई दिनुभएन अन्तै दिनुभयो भने हामीले जति उपलब्ध हुन्छ । त्यति नै मिश्रण गर्छौँ ।
उपभोक्ताले इथानोल मिसिएको पेट्रोल मात्र प्रयोग गर्नुपर्ने हो कि रोज्न पाउने विकल्प हुन्छ ?

उपभोक्ताले “म मिश्रण नभएको पेट्रोल मात्र हाल्छु” भन्न पाउने विकल्प हुँदैन, किनकि हामीले स्रोत (डिपो) मै मिश्रण गरेर पठाउँछौँ । सुरुमा अमलेखगञ्ज डिपोबाट वितरण हुने क्षेत्रमा ‘ब्लेन्डेड पेट्रोल’ नै पठाइन्छ ।
स्रोतबाटै मिश्रण भएर जाने हुनाले उपभोक्ताले छुट्टै पेट्रोल रोज्न पाउने छैनन् । तर, अन्य डिपोहरू (भैरहवा, नेपालगञ्ज, सुदूरपश्चिम आदि) मा तत्काल मिश्रण नहुने भएकोले त्यहाँ सामान्य पेट्रोल नै उपलब्ध हुनेछ ।
तर, विस्तारै सवै डिपोहरुमा मिश्रण गर्ने भइसकेपछि छुट्टा छुट्टै पेट्रोल हाल्ने सुविधा रहँदैन ।
इथानोलको प्रयोगले नेपालको वैदेशिक व्यापार घाटा कम गर्न कति योगदान पुर्याउँछ ?
प्रतिदिन २ लाख लिटर पेट्रोल खपत हुन्छ । यस अनुसार प्रतिदिन ३ करोड २० लाख रुपैयाँ बराबरको आयात प्रतिस्थापन गर्न सकिन्छ ।
इथानोल मिसाउँदा सवारी साधनको इन्जिन बिग्रने वा समस्या आउने डर हुन्छ कि हुँदैन ?
यो विषयमा धेरैलाई संशय हुन सक्छ, तर प्राविधिक रूपमा डराउनुपर्ने अवस्था छैन । इथानोल मिश्रण गर्ने प्रविधि विश्वभर नै ‘प्रुभन टेक्नोलोजी’ हो । भारतमा अहिले पेट्रोल पम्पहरूमा ‘ई–२०’ (२० प्रतिशत मिश्रण) लेखिएको पाइन्छ, हामी त सुरुमा २ प्रतिशतबाट सुरु गरेर १० प्रतिशत (ई–१०) सम्मको मात्र कुरा गर्दैछौँ ।
इन्जिन बिग्रने मुख्य कारण इथानोलमा हुन सक्ने ओस हो । यदि पानीको मात्रा बढ्यो भने मात्र इन्जिनलाई असर गर्छ । त्यसैले हामीले इथानोलको शुद्धता ९९.५ प्रतिशत हुनुपर्ने कडा मापदण्ड राखेका छौँ । ओसलाई नियन्त्रण गर्न हामीले डिपोमा विशेष उपकरण र ट्याङ्कीमा कोटिङ गर्छौँ । गुणस्तर र मापदण्ड पूर्ण रूपमा पालना गरिने भएकोले इन्जिन बिग्रने समस्या हुँदैन ।
यो परियोजनामा व्यक्तिगत स्वार्थ वा चलखेल भएको आशंका पनि गरिन्छ नि ?
यो आशंका निराधार छ । इथानोल मिश्रण गर्ने निर्णय २०६० सालमै भएको हो, तर कार्यविधि नहुँदा कार्यान्वयन हुन सकेको थिएन । त्यो समयमा नै इथानोलको प्रयोग गरी पेट्रोल उत्पादन गर्ने भनेर राजपत्रमा प्रकाशित नै भइसकेको कुरा कार्यान्वयन गर्न नसकेर रोकिएको हो । यसलाई फाइदाका हिसाबले अघि सारेको भए त त्यतिबेला नै सुरु भइसक्थ्यो होला ।
हामीले पारदर्शी रूपमा सार्वजनिक सूचना निकालेर जोसुकै चिनि उद्योगहरुलाई पनि इथानोल बिक्रीका लागि सहभागी हुन आह्वान गर्छौँ । तपाईले इथानोल उत्पादन गर्नुहुन्छ भने तपाईलाई पनि अवसर दिन्छौँ ।
त्यसैले कसैलाई सीमित गर्ने वा ‘फेभर’ गर्ने कुरै आउँदैन । यो वातावरण संरक्षण, व्यापार घाटा न्यूनिकरण र नेपाली किसान तथा उद्योगलाई फाइदा पु¥याउने राज्यको नीति हो । यसमा कसैको निजि स्वार्थ लुकेको छैन ।
निगम आफैँले किन उत्पादन नगरेर निजी क्षेत्रलाई दिन खोजेको ?
निगमको मुख्य काम पेट्रोलियम पदार्थको आयात र वितरण हो । इथानोल उत्पादनका लागि उत्पादन देखिकै प्रक्रिया जोडिने हुनाले यो हाम्रो उद्देश्यभन्दा फरक क्षेत्र हो । हामीले निजी क्षेत्रबाट खरिद गर्दा स्वदेशी लगानी र रोजगारी बढ्छ । जसरी अहिले विदेशी कम्पनीबाट पेट्रोल किन्छौँ, त्यसरी नै नेपाली कम्पनीबाट इथानोल किन्दा स्वदेशी पुँजी विदेश जानबाट रोकिन्छ ।
इथानोल उत्पादन गर्ने उद्योगका लागि सुरक्षा मापदण्ड हेरफेर भयो भने लगानी डुब्ने अवस्था त बन्दैन होला नि ?
हामी लगानीकर्ताहरूलाई ‘लेटर अफ इन्टेन्ट’ (एलओआई) दिन्छौँ, जसले उनीहरूको बजार सुरक्षित गर्छ । उनीहरूले उत्पादन गरेको इथानोल हामीले तोकेको गुणस्तरमा सिधै निगमलाई बेच्न सक्छन् । यसमा मार्केटिङको झन्झट नै परेन त्यो त चिनि उद्योगीको लागि राम्रो कुरा हो नि ।
यो ’प्रुभन टेक्नोलोजी’ हो । भारतमा ‘ई–२०’ (२० प्रतिशत मिश्रण) प्रयोग भइरहेको छ, हामी त मात्र १०% को कुरा गर्दैछौँ । त्यसैले डराउनुपर्ने अवस्था छैन । लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्छन् ।
हामी सार्वजनिक सूचना निकालेर कुन उत्पादकले एक वर्षमा कति परिमाणमा इथानोल दिन सक्छन्, त्यो जानकारी संकलन गर्छौँ ।
यसमा लगानीकर्तालाई सबैभन्दा ठूलो फाइदा के छ भने उहाँहरूले मार्केटिङको झन्झट व्यहोर्नु पर्दैन । उत्पादन गर्ने बित्तिकै सिधै नेपाल आयल निगमलाई बुझाउन सकिन्छ । त्यसैले लगानी डुब्ने सम्भावना रहँदैन ।
यदि चिनी मिलले माग अनुसार उत्पादन गर्न सकेनन् भने के हुन्छ? निगमको ‘प्लान बी’ के छ ?
हाल ६–७ वटा चिनी उद्योग छन् । ती उद्योगहरूले कति परिमाण इथानोल दिन सक्छन् भन्ने यकिन गर्न हामी छलफल गर्दैछौँ । यदि चिनी मिलले सकेनन् भने हामी नयाँ कच्चा पदार्थ जस्तै सिमल तरुलबाट इथानोल उत्पादन गर्न नयाँ लगानीकर्तालाई आह्वान गर्छौँ । त्यसको लागि अर्को २ वर्ष लाग्ने सम्भावना हुन्छ ।
निगम प्रबन्ध निर्देशक डा. भट्टको भिडियो संवाद …










प्रतिक्रिया