काठमाडौँ । आज माघे संक्रान्ति । आजको दिनलाई मकर संक्रान्ति र माघी पनि भन्ने गरिन्छ । यो नेपालको प्रमुख चाड मध्ये एक हो ।
ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमाप्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
आजका दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । जबकी आजभोलि पुस ७ गतेबाटै दिन लम्बिन र रात छोट्टीन सुरु हुन्छ ।
माघे संक्रान्तिको अवसरमा आज देशभरका नदी स्नान गरी मन्दिरमा पूजा आजा गरिन्छ । साथै घिउ, चाकु, तिलको लड्डु र तरुलखाएर मनाउने गरिन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी हुने उल्लेख छ ।
नेपालमा माघे संक्रान्तिलाई भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर जातिले मुख्य रुपमा धुमधामको साथ मनाउने गर्छन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्न भिन्न विशेषता र तरिकाले मनाउने गरेको पाइन्छ ।
यस दिन घ्यू, चाकु,तिलका परिकार, खिचडी, तरुलआदिखाने चलन छ । यस्ता परिकारले जाडोमान्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ । नेपाली उखानै छ, ‘पुसमा पाके माघमा खाके’ अर्थात् पुसमा पकाएर माघमा खाने पनि भनिन्छ । यी परिकारहरुको आ–आफ्नै विशेषता रहेका छन् ।
घिउ
घिउमाघे संक्रान्तिमा खाइने मुख्य परिकार हो। यो स्वास्थ्यका लागि फाइदाजनक एक किसिमको परिकार हो । घिउले मुटुलाई स्वस्थ राख्छ भने क्यान्सरको खतरालाई घटाउने काम समेत गर्छ।
यसको सेवनले छाला स्वस्थ राख्नुका साथै स्मरण शक्तिमा पनि सकारात्मक प्रभाव पार्छ। यसको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत बलियो बनाउन सघाउँछ।
चाकु
पानीमा सक्खर राखेर लामो समयसम्म पकाएर तातो सेलाएपछि रङ परिवर्तन नहुँदासम्म फिटेर चाहिने मात्रामा किसमिस, काजु, नरिवलमिसाएर केही समय खुला छोडेपछि चाकु तयार हुन्छ।
यो खाँदाजति स्वादिष्ट हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । यसमा कार्बोहाइड्रेड, क्याल्सियम, फोस्फोरसर आइरन जस्ता तत्व पाइन्छ। यसको सेवनले शरीरमा गर्मी पैदा गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। यसको सेवनले भोक लाग्नुका साथै शरीरमा रगतपनि बढाउँछ।
तिलको लड्डु
तिलमा सक्खर मिसाएर तिलको लड्डु बनाइन्छ। तिलको लड्डु स्वादिष्ट हुनुका साथै हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ। जाडो मौसममा तिलको लड्डु खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। तिलमा चिल्लो प्रचुर मात्रामा पाइन्छ। यसमा फाइबर, प्रोटिन, क्याल्सियम, भिटामिन बीकम्प्लेक्स, कार्बोहाइड्रेड र चिल्लो जस्ता तत्व पाइन्छ।
तरुल
तरुल माटो मुनि फल्ने कन्दमुल हो। यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याका लागि उपयुक्त मानिएको छ । जाडोमा यसको सेवन एकदमै लाभदायक मानिन्छ ।
यो स्वास्थ्यका लागि लाभदायक खाद्य पदार्थ हो। यसमा प्रोटिन, ग्लुकोज, मिनिरल, कार्बोहाइड्रेट र विभिन्न प्रकारका भिटामिन पाइन्छ। यसको सेवनले छाला तथा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु सम्बन्धी समस्यामा फाइदा गर्छ। यसमा भएको कार्बोहाइड्रेटले गर्दा शरीरमा ऊर्जा दिन्छ। त्यसैले यसलाई शक्तिवर्धक खानेकुराका रूपमा लिइन्छ । यसमा पाइने एन्टी अक्सिडेन्टले क्यान्सरसँग लड्न सक्ने क्षमता वृद्धि गर्छ । तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाने चलन छ ।
खिचडी
खिचडी माघे संक्रान्तिमा खाइने अर्को परिकार हो। मासको दाल, घिउ र चामल मिसाएर बनाइएको यो परिकार निकै स्वादिलो हुन्छ। यसले शरीरमा गर्मीको मात्रा बढेर तागतदिने भएकाले यसको सेवन स्वास्थ्यका दृष्टिकोणले निकै लाभदायक मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ।
जाडो महिनामा पर्ने माघे संक्रान्तिमा स्नान गरी यी खानेकुरा खाएमा शरीरमा गर्मीको मात्रा बढेर तागतबढ्ने र शरीरमा तेल लगाउँदा छाला सम्बन्धी अन्य रोगहरू नष्ट हुने विश्वास रहेको छ ।










प्रतिक्रिया