सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल नियुक्त


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।

परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गतेका दिन सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा श्रेष्ठ मनोनित भएका हुन् ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको संचालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ ।

श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक अग्रणी व्यक्तित्वको रुपमा परिचित छन् । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव थिए ।

त्यसैगरी नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनित गरेको छ ।

तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनित भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिएको कारण उनले सम्हाल्दै आएको कोषाध्यक्ष पदसमेत रिक्त रहेको थियो ।

यसअघि, कार्यसमितिको सदस्य रहेका महासचिव गोयल एक कुशल र अनुभवी बैंकरको रुपमा परिचित छन् । उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेण्ट बैंक र तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको उच्च तहको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

त्यसैगरी, यसअघि कार्यसमितिको सदस्य रहेका कोषाध्यक्ष नेपाल नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा एक अनुभवी व्यक्तित्वको रूपमा चिनिएका छन् । उनले नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालीन लक्ष्मी बैंकको सञ्चालक र नागरिक लगानी कोषको कार्यकारी निर्देशक जस्ता महत्वपूर्ण पदमा रही कुशल प्रशासक र अनुभवी बैंकरको परिचय बनाएका छन् ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरुमध्येबाट मनोनित गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुमध्येबाट मनोनित गर्ने व्यवस्था बमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनित गरिएको हो ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।