निर्वाचन अगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग


काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले  एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताए ।

महासङ्घले नारायणगढ–बुटवल सडकखण्ड, नौबिसे–मुग्लिन सडकखण्ड, बिपी राजमार्गलगायत देशभरिका सडक हालसम्म पनि सडक साँघुरो र खाल्डाखुल्डी भएकाले देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आमव्यवसायीलाई असहज भएको जनाएको छ ।

निर्वाचनका समयमा आमयात्रु तथा मतदातालाई गन्तव्य स्थानसम्म पुग्न अत्यधिक समय लाग्ने गरेकाले सार्वजनिक सवारीसाधन सहज रुपमा आवतजावत गर्न सकिने व्यवस्था मिलाउन महासङ्घले अनुरोध गरेको हो ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।