काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ ।
सोमबार रातिबाटै सुदुरपश्चिम क्षेत्रबाट प्रवेश गरेको यसपालिको न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ ।
मौसमविद् पौडेलले भने, “ बुधबार काठमाडौँमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठूलो झरी भने छैन ।” यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए ।
यो प्रणाली मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ । त्यसपछि मङ्गलबार राति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ । त्यसले काठमाडौँमा समेत बदली हुने र बुधबार रातिदेखि विस्तारै हट्दै जाने पनि पौडेलले बताए।












प्रतिक्रिया