नेपाल बैंकको खुद नाफामा १८३.०४ प्रतिशतको वृद्धि


काठमाडौँ । नेपाल बैंक लिमिटेडको खुद नाफा १८३.०४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

यता, बैंकको खुल व्याज आम्दानीमा भने गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.५९ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३९४।६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३।५७ गुणा रहेको छ।

त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ३ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी २ खर्ब ३० अर्ब ३० करोड ३ लाख रुपैयाँ पु्गेको छ । चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार  ०७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।