काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ ।
बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआइएस) द्वारा चीनको थिआनचिनमा आयोजित ‘२० औं एसिया प्यासिफिक हाई लेभल मिटिङ अन बैंकिङ सुपरभिजन’ कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीबारे छलफल भयो । साथै वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ, र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा गभर्नरद्वयबीच छलफल भएको थियो ।
यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखे ।
चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र तत्पर रहेको विचार व्यक्त गरेको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटका अवसरमा पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्फबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको समेत सहभागिता थियो ।












प्रतिक्रिया