ओएन बायोटेक एण्ड रिसर्च पब्लिकले आइपिओ निष्काशन गर्दै, बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल


काठमाडौँ । ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । सो सेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा ओ.एन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७६ साल पौष महिना २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनीको केन्द्रीय कार्यालय तिलोत्तमा १६ मा रहेको छ भने उद्योग क्षेत्र रुपन्देहीको तिलोत्तमा १६, १७ एवम् रुपन्देहीको शुद्धोधन १ मा रहेको छ । कम्पनीले कृषि उत्पादन पछि खेर जाने सहायक सामग्रीहरु जस्तैः पराल, भुस, उखुको बगास, तोरीको पिना/भुस लगायतका सामाग्रीहरु प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ भने बीउ उत्पादनका लागि गहुँ, जुनेलो तथा कोदोको प्रयोग गरी बीउ उत्पादन गरेर सबै खालका च्याउका बीउ बीजन समेत उपलब्ध गराउँदै आईरहेको छ । ताजा च्याउ बजारीकरणका साथै कम्पनीले च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राई मसरुम बनाइरहेको छ भने क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ । कम्पनीले च्याउका अतिरिक्त मौसमी तरकारी उत्पादन एवम् बजारीकरण तथा किसानका लागि आवश्यक पर्ने कम्पोष्ट मल समेत उपलब्ध गराउँदै आएको छ । यसका अलावा प्राङगारिक मल उत्पादन गरी बिक्री वितरण गर्ने योजना सहित कम्पनी अगाडि बढिरहेको छ । कम्पनीले च्याउ उत्पादनमा देशलाई आत्मनिर्भर बनाउँदै उत्पादित च्याउ विदेश निर्यात गर्ने उद्देश्यले गोब्रे च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) एवम् कन्ये च्याउ उत्पादनका लागि कम्पोष्ट बल उत्पादन गरी नेपालभरका किसान तथा ठूला व्यावसायिक कृषकलाई पनि बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक खेती गर्ने किसानलाई बीउ, सहायक सामाग्री तथा च्याउ उत्पादनको परामर्श दिने काम कम्पनीले गर्दै आईरहेको छ । यस कम्पनीमा कृषि विज्ञ, ख्याति प्राप्त व्यवसायी, च्याउविज्ञ, युवा उद्यमी, चार्टर्ड एकाउन्टेण्ट तथा अन्य पेशामा संलग्न प्रतिष्ठित व्यक्तिहरू रहेका छन् ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार  १७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।