काठमाडौँ । यस वर्ष सर्वाधिक कमाउने चलचित्र ‘परान’ बनेको छ । तीन महिनासम्म प्रदर्शनमा रहेको सो चलचित्रले हालसम्म १७ करोड ८४ लाख रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन विवरण अनुसार परान चलचित्रको तुलनामा अन्य चलचित्रको कमाई सामान्य देखिएको छ । बोर्डले हलमा प्रदर्शनमा रहेका ६ चलचित्रको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको छ ।
चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र परान, गोबर गणेश, झरी पछिको इन्द्रेणी, भारइल गोर्खे, मिरमिरे र परिवर्तनको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।
बोर्डको सिनेपा बक्स अफिसले माघ १७ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो । जसअनुसार गत कात्तिक १४ गते (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आएको दीपक प्रसाद आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ ले ६ लाख ३३ हजार ५४ वटा टिकट बिक्री गरी १७ करोड ८४ लाख ४७ हजार ५७६ रुपैयाँ आम्दानी गरेको हो । उक्त चलचित्र हालसम्म हलमा प्रदर्शनरत छ ।
त्यसैगरी, कमाइको हिसाबले दोस्रो स्थानमा चलचित्र ‘गोबर गणेश’ रहेको छ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको उक्त, चलचित्रले ४८ हजार ०५३ टिकट बिक्री गर्दै १ करोड ३६ लाख २० हजार ८६६ रुपैयाँ संकलन गरेको छ । यो चलचित्र माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको हो ।
त्यसैगरी, तेस्रो स्थानमा रहेको झरीपछिको इन्द्रेणीले ४० हजार ६२४ टिकट बिक्री गर्दै १ करोड २८ लाख ५२ हजार ३१९ रुपैयाँ कलेक्सन गरेको छ । अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ गत पुस ४ गतेबाट प्रदर्शनमा आएको थियो ।
चौथो स्थानमा रहेको चलचित्र ‘भाइरल गोर्खे’ ले ११ हजार २९८ टिकट बिक्री गर्दै ३६ लाख १० हजार ९२५ रुपैयाँ आम्दानी गरेको छ । निगम श्रेष्ठले निर्देशन गरेका सो चलचित्र माघ १ गतेदेखि प्रदर्शनका आएको हो ।
यस्तै, चलचित्र मिरमिरेले हालसम्म १० हजार ८८४ टिकट बिक्री गरी ३३ लाख ९३ हजार ७२५ रुपैयाँ आम्दानी गरेको छ । यो चलचित्र यम शेर्पाको निर्देशनमा तयार भएको हो ।
यस्तै, चलचित्र परिवर्तनले हालसम्म ११ हजार ६ वटा टिकट बिक्री गरी ३१ लाख ९ हजार ९२५ रुपैयाँ आम्दानी गर्दै सूचीको अन्तिम स्थानमा परेको छ । गत माघ ९ गतेदेखि प्रदर्शनका आएको सो चलचित्र दीपक सिवाकोटीले निर्माण गरेका हुन् चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारी तयार पारेका हुन् ।
चलचित्र विकास बोर्डले साताको एक दिन चलचित्रको कारोबार विवरण सार्वजनिक गर्दै आएको छ । यद्यपी, निर्माताहरुले भने दैनिक विवरण बुझाउने गरेको छ ।












प्रतिक्रिया