काठमाडौँ । आज भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात फेब्रुअरी ९ । चकलेट डे मनाइँदै । रोज र प्रपोज डे पछि चकलेट आदानप्रदान गरेर यो डे मनाउँछन् ।
यस दिन चकलेटको खपत धेरै हुने गरेको छ । व्यापारीहरुले पनि यसदिनलाई मध्यनजर गर्दै पुस महिनामा ३४ करोड ४३ लाख ३४ हजार रुपैयाँ बराबरको चकलेट आयात गरेका छन् । सो अवधिमा ६ लाख २०२ केजी विदेशी ब्राण्डका चकलेट आयात भएको हो ।
यता, ६ महिनाको अवधिमा साउनदेखि पुससम्मको अवधिमा १ अर्ब ४८ लाख ६६ हजार रुपैयाँ बराबरका विभिन्न विदेशी ब्रान्डका चकलेट आयात भएको छ । चकलेट आयातबाट सरकारले १ अर्ब १७ करोड ६२ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
सो अवधिमा २३ लाख १२ हजार ७१५ किलो चकलेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत मंसिरसम्म नेपालले १ अर्ब १४ करोड २३ लाख ७ हजार रुपैयाँ बराबरको २३ लाख १२ हजार ७१५ केजी चकलेट आयात गरेकोे थियो । गत मंसिरसम्म नेपालले ९१ करोड ६९ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
५ महिनाको अवधिमा नेपालमा १२ करोड ५५ लाख ७४ हजार रुपैयाँ बराबरको २ लाख ५४ हजार १ सय २८ किलो च्युइगम चकलेट खपत भएको छ । नेपालमा अधिकांश चुइकम भारतबाट नै आयात हुँदै आएको छ ।
नेपालले भारतसहित अस्ट्रेलिया, थाइल्याण्ड, चीन, युएई, युके, भियतनाम, फिलिपिन्स, मलेसिया, अमेरिका, इजरायल, फ्रान्स, टर्की, इटाली, पोल्याण्ड, स्विट्जरल्याण्ड लगायतका मुलुकबाट भित्रिएका विभिन्न प्रकार र स्वादका चकलेट आयात गर्दै आएको छ ।
नेपालमा भित्रिने चकलेटमध्ये झण्डै दुई तिहाइ परिमाण भारतबाट आयात हुँदै आएको छ भने एक चौथाइको हाराहारीमा चीन र बाँकी परिमाण विभिन्न मुलुकबाट आयात हुन्छ ।
यता, नेपालबाट पनि थोरै परिमाणमा चकलेट निर्यात हुँदै आएको छ ।
नेपालबाट ५६ लाख ६७ हजार रुपैयाँ बराबरको १९ हजार ८ सय ९ किलो चकलेट अन्य मुलुकका विभिन्न क्षेत्रहरुमा निर्यात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा बढी भारतमा ५० लाख ७९ हजार रुपैयाँ बराबरको १८ हजार ७ सय ७४ किलो चकलेट निर्यात भएको छ। बाँकी ५ लाख ८८ हजार रुपैयाँको १ हजार ३५ किलो चकलेट अस्ट्रेलिया, अमेरिका, कतार, जापान, कोरिया, डेनमार्क, फ्रान्स, इन्डोनेसिया लगायतका मुलुकमा निर्यात हुँखै आएको छ । यो साउनदेखि पुस महिनासम्मको तथ्यांक हो ।












प्रतिक्रिया