सौर्य एयरलाइन्सलाई पुन: उडान अनुमति


काठमाडौँ । सौर्य एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनस् उडान अनुमति दिएको छ । ९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडानमा रोक लगाइएको थियो ।

हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणद्वारा सौर्य एयरलाइन्स र अन्य एयरलाइन्स समेतलाई निर्देशित सम्पूर्ण सुझावको पालना साथै टेक्निकल सफ्टवेयर पनि खरिद र जडानपछि सेफ्टी स्ट्यान्डर्ड ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले उडान अनुमतिपत्र नवीकरण गरेको कम्पनीले जनाएको छ ।

सौर्य एयरलाइन्सको उडान अनुमति प्रमाणपत्र प्राधिकरणले ३० साउन २०८२ मा प्रतिबन्ध फुकुवा गरेको थियो । तर, सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम प्राप्तांक आएका कारण उडानमा भने प्रतिबन्ध कायमै थियो ।
यता, नेपाल सरकार र नियामक निकायलाई बुझाउनुपर्ने कुनै पनि प्रकारको शुल्क वा बक्यौता नरहेको समेत कम्पनीको दाबी छ ।

फागुन दोस्रो साताबाट विराटनगर र भद्रपुरबाट उडान सुरु गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।