नेपालको अग्रणी स्टक ब्रोकर कम्पनी, नासा सेक्यूरिटीजले मार्जिन ट्रेडिङ्ग सुविधा सुरु गरेको छ ।
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ लागु गरेसँगै नासा सेक्युरिटिजले लगानकर्तालाई सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ्ग सुविधा फागुन ४ गतेदेखि सुरु गरेको हो ।
कम्पनीका अनुसार लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर सेयर खरिद गर्न सक्नेछन् । यसले लगानीकर्तालाई थप लगानीको अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहकमैत्री बनाइएको कम्पनीले बताएको छ ।
कम्पनीले २०७५ को निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोवार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजनाहरु अघि सारेको जनाएको छ । हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीको मार्जिन ट्रेडिङ्ग योजना अन्तर्गत ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहेको खण्डमा केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) जम्मा गरेर कारोबार सुरु गर्न सक्ने कम्पनीले जनाएको छ । ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।
योजना अनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी ७ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने विज्ञप्तिमा उल्लेख छ ।

यसका अतिरिक्त कम्पनीले १० लाखदेखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू पनि सञ्चालन गरेको छ । ति योजनाहरुको अवधि १ देखि ३ महिनाको हुने बताइएको छ । मार्जिन ट्रेडिङ सुविधा मार्फत लगानीकर्ताहरूले ठूलो लगानी अवसरहरूको लाभ लिन सक्ने कम्पनीको विश्वास छ ।
नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ्ग सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ्ग खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ ।
नासा सेक्युरिटिजको नजिकको शाखा कार्यालयमा उपस्थित भई आफ्नो केवाईसी फाराम भर्नुका साथै आवश्यक आधिकारिक जानकारी तथा कागजातहरू पेश गरेर सेवा लिन सकिने कम्पनीको भनाई छ । आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराउन आवश्यक थप कार्यहरू अगाडि बढाइने कम्पनीले बताएको छ ।
यद्यपी यस सेवाको लाभ लिनका लागि ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूची भित्र मात्र कारोबार गर्नुपर्नेछ ।












प्रतिक्रिया