गण्डकी । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।
प्रदेशका ११ जिल्लामा रहेका २ हजार ३९६ मतदान केन्द्रमा ६ जनाका दरले १४ हजार ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।
एउटा मतदान केन्द्रमा एक÷एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी, १ जना कार्यालय सहयोगी र ३ जना स्वयंसेवक खटिने उनले बताए।
जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र रहेका छन् । प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् ।
यहाँ सबैभन्दा बढी कास्कीमा ३ लाख ८ हजार ५७२ र सबैभन्दा कम मनाङमा ७ हजार मतदाता रहेका छन् । स्याङ्जामा २ लाख ४८ हजार ८१६, तनहुँमा २ लाख ५४ हजार ३९७, नवलपुरमा २ लाख ६८ हजार ५२६, गोखरामा २ लाख २९ हजार ५८ र बागलुङमा १ लाख ९३ हजार १८१ मतदाता छन् ।
यस्तै, लमजुङमा १ लाख ३७ हजार १२४, पर्वतमा १ लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेका छन् । प्रदेशका कुल मतदातामध्ये ९ लाख १४ हजार ५३५ पुरुष, महिला ९ लाख ५५ हजार ५१६ र अन्य १४ जना रहेका छन् ।
गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता रहेका थिए । हालको चुनावमा २ लाख ७ हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । गण्डकीमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।












प्रतिक्रिया