काठमाडौँ। नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यस सेवामार्फत ग्राहकहरूले एकै पटक २ हजार, ५ हजार र १० हजारसम्म एसएमएस पठाउन सक्ने व्यवस्था रहेको छ।
विभिन्न व्यक्ति तथा संस्थाहरूले एउटै सन्देश धेरै जनासम्म पुर्याउनुपर्ने अवस्थामा यो सेवा उपयोग गर्दै आएका छन्। हालको सन्दर्भमा सूचना प्रवाहलाई छिटो र प्रभावकारी बनाउन ग्रुप एसएमएस सेवा अझ उपयोगी हुन सक्ने नेपाल टेलिकमले जनाएको छ।
यस अन्तर्गत १,२४३ रुपैयाँमा २ हजार एसएमएस, ३,१०८ रुपैयाँमा ५ हजार एसएमएस र ६,२१५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ। सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनीको सिमकार्ड आवश्यक पर्नेछ। साथै, प्रेषित सन्देशको शब्द, विषयवस्तु तथा भावका सम्बन्धमा पठाउने व्यक्ति वा संस्था स्वयं जिम्मेवार हुने जनाइएको छ।
सेवा प्रयोग गर्न मोबाइल, डेस्कटप वा ल्यापटपमार्फत नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा लगइन गरी आवश्यक प्याकेज खरिद गर्न सकिन्छ। ग्राहकहरूले एक्सेल शिटमार्फत आवश्यक मोबाइल नम्बरहरू अपलोड गरी एकै पटक धेरै जनालाई सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।












प्रतिक्रिया