म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको विजय नजिक


म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् ।

धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका हुन् ।

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को तीन हजार ९०६ मत गणना हुन बाँकी छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार ५२४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार २७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ४१२ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । बयालीस हजार ४४५ मत गणना सकिएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।