दैलेख–२ मा एमालेका पोखरेल अगाडि


दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पोखरेलले आठ हजार ७७३ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले पाँच हजार ७७० मतका साथ पछ्याइरहेका छन् । दुई उम्मेदवारबीचको मतान्तर दुई हजार ५३० रहेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही दुई हजार ५७७ मतसहित तेस्रो स्थानमा छन् ।

निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार निर्वाचन क्षेत्र नं २ अन्तर्गत अब दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका गरी कूल १५ वटा वडाको मतगणना हुन बाँकी रहेको छ । “अहिले गणना जारी छ, बाँकी रहेका वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भने ।

कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  ०९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।