तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । पछिल्लो ८ महिनामा मात्र २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रुपैयाँ आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ ।

सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ५९ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ ऋण उठाइसकेको छ । जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ६७.३१ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ बराबर उठिसकेको छ ।

त्यस्तै, बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा २४.३१ प्रतिशत अर्थात् ५६ अर्ब ८० करोड रुपैयाँ मात्रै उठेको छ ।

त्यस्तै, सरकारी ऋणको साँवा–ब्याज तिर्नका लागि यस वर्ष सरकारले ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेकामा फागुन मसान्तसम्ममा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक विनियोजनका आधारमा ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।