काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा बढ्दो तनाव र युद्धका कारण नेपालमा रासायनिक मलको अभाव हुने देखिएको छ । खाडी मुलुकबाट भारत हुँदै आयात गरिने मलको आपूर्ति प्रणालीमा अवरोध आउने देखिएपछि किसानहरु मर्कामा पर्ने जोखिम बढेको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैते धान, मकै लगायतका यो सिजनको खेतीबालीलाई आवश्यक पर्ने रासायनिक मलको मौज्दात रहेको बताएको छ । तर अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वका कारण असारे रोपाईको समयमा पनि किसानहरूले मलको अभाव सामना गर्नुपर्ने देखिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा प्रयोग हुने रासायनिक मलको ठुलो हिस्सा खाडी राष्ट्रहरूबाट आयात हुन्छ । रासायनिक मलको खरिद प्रक्रिया अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरका माध्यमबाट हुने गर्दछ । तर हाल अमेरिका, इजराइलको इरानसँगको युद्धका कारण ग्लोबल टेन्डर मार्फत गरिने खरिद प्रक्रिया र ढुवानीमा समस्या पर्न थालिसकेको छ ।
रासायनिक मल खाडी मुलुक हुँदै भारतको कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गर्ने कृषि मन्त्रालयकी प्रवक्ता जानुका पण्डितले जानकारी दिइन् ।
उनका अनुसार, मन्त्रालयले चालु आवमा करिब २५ हजार मेट्रिकटन मल आयात गने बोलपत्र आह्वान भइसकेको छ । मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले २५ हजार मेट्रिकटन थप आयात गर्नको लागि पुनः बोलपत्र आह्वान गरेको हो ।
पछिल्लो समय आह्वान गरिएको बोलपत्रअनुसार मल आयात भएपछि चालु आवमा चार लाख ९१ हजार मल किसानलाई वितरण गर्न सकिने उनको भनाई छ ।
पण्डितका अनुसार हालसम्म देशभरका विभिन्न गोदामहरू (विराटनगर, वीरगन्ज र भैरहवा) बाट मागअनुसार मल आपूर्ति भइरहेको छ । ‘चालु आर्थिक वर्षका लागि ४ लाख ९१ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य अनुरूप प्रक्रिया अघि बढेको छ,’ उनले भनिन्, ‘अहिले बजारमा चैते धानका लागि मलको अभाव नभए पनि मध्यपूर्वको संकट लम्बिएमा आगामी दिन चुनौतीपूर्ण हुन सक्छ ।’
मन्त्रालयले मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान बजेट विनियोजन गरेको छ । जसमध्ये ७० प्रतिशत हिस्सा कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङले व्यवस्थापन गर्दै आएका छन् ।
अमेरिका, इरान र इजरायलको युद्धका कारण इरानले हर्मुज जलमार्ग बन्द गर्दा रासायनिक मलको आयात रोकिएको छ । मध्यपूर्वी क्षेत्रमा जारी युद्धले मल खरिदमा समेत अप्ठ्यारो पर्ने देखिएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले मध्यपूर्वी क्षेत्रको युद्ध लम्बिदै गएमा मुलुकमा रासायनिक मल खरिद प्रक्रिया र मूल्यमा ठूलो असर पर्ने बताए ।
जेठ असारपछि वर्षासँगै आम किसानले धानखेती लगाउँछन् । चैत बैशाखमा भने किसानले गहुँ, मकै खेती गर्छन् । अधिकांश किसानले गहुँ र चैतेधान लगाउने गर्छन् । त्यसका लागि किसानलाई डीएपी र युरिया मलको आवश्यकता पर्दछ ।
चैतेधानका लागि मलको अभाव नभए पनि मध्यपूर्वी क्षेत्रको युद्ध लम्बिएमा अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्ने र खरिद प्रक्रिया नै ठप्प हुन सक्ने पोखरेलले बताए । ‘हाम्रो मुख्य आयात स्रोत नै त्यही क्षेत्र हो । यदि युद्ध लामो समयसम्म चलेमा ढुवानी मार्ग प्रभावित भई नेपालमा मलको ठुलो अभाव सिर्जना हुन सक्छ,’ पोखरेलले भने ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत कुमारराज भण्डारीका अनुसार नेपालले भारतबाट मल ल्याउने भए पनि भारत आफैँले अन्य मुलुकबाट आयात गर्नुपर्ने हुन्छ । ‘भारतमा अभाव देखिनेबित्तिकै त्यसको प्रत्यक्ष असर नेपालमा पर्छ । विशेष गरी जेठ–असारमा धान रोपाइँको बेला किसानलाई मल नभई हुँदैन, त्यही बेला संकट आउने जोखिम छ,’ उनले भने ।










प्रतिक्रिया