वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात


पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै पाँच खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड  रुपैयाँ अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने पाँच अर्ब ३६ करोड ५५ करोड रुपैयाँ  पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए ।  

वीरगञ्ज हुँदै चालु आवको सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा ५२ अर्ब ७५ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ । साथै ४२ अर्ब ४८ करोड रुपैयाँ पर्ने मेसिनरी पार्टपुर्जा, ४१ अर्ब २० करोड रुपैयाँ पर्ने भटमासको कच्चा तेल, ३० अर्ब ९१ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, २८ अर्ब ५९ करोड रुपैयाँ पर्ने मलखाद र २३ अर्ब ७१ करोड रुपैयाँ पर्ने कपडाहरु आयात भएका छन् ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।