कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री


जनकपुरधाम । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ ।

सो कार्यालयले सो अवधिमा रु १३ करोड ८७ लाख ६७ हजार ५८० बराबरको आठ हजार १५८ मेट्रिकटन युरिया, रु २९ करोड ७९ लाख सात हजार मूल्य बराबरको छ हजार ३२० मेट्रिकटन डिएपी तथा रु ४३ लाख २२ हजार ६७१ बरारको १८८ मेट्रिकटन पोटास बिक्री गरेको कार्यालय प्रमुख वेचनकुमार साहले जानकारी दिए ।

धनुषा तथा महोतरी जिल्ला गरी दुई जिल्लामा सो कार्यालयले किसानलाई सम्बन्धित पालिकाको सिफारिसमा रासायनिक मल वितरण गर्दै आएको छ । उक्त दुवै जिल्लाका २७ पालिकाहरूमा २१२ वटा आधिकारिक डिलरमार्फत उक्त रासायनिक मल बिक्री गर्दै आएको छ । हाल कार्यालयको गोदाममा एक हजार १९२ मेट्रिकटन युरिया, ८३८ मेटिकटन डिएपी मल तथा ३६१ मेट्रिकटन पोटास मौज्जदात रहेको कार्यालयद्वारा जारी तथ्याङ्कमा जनाइएको छ ।

हालको सिजनका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्जदात रहेको उनले भने । उनले पालिकाका किसानका लागि छुट्याइएको रासायनिक मल सम्बन्धित निकायले लिन नआएको प्रमुख साहको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालयले रु ३५ करोड मूल्य बराबरको रासायनिक मल बिक्री वितरण गरेको थियो । धनुषा तथा महोतरीका सीमा क्षेत्रका किसानले भारतीय सीमाबाट रासायनिक मल खरीद गरी ल्याउने गरेको छ । 

(रासस)

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।