काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ अंकमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३४७ कम्पनीका २ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयरहरु १ लाख २३ हजार ७३० पटक किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से १९.७० अंकले बढेर २८५१.०९ अंकमा पुग्दा कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा पुगेको थियो ।
बुधबारको कारोबारमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, भुजुङ हाइड्रो पावर, रिग्दे लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा नेपाल रिइन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ । बुधबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, नेश्नल हाइड्रोपावर, शिभश्री हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।
बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा हिमालयन रिइन्स्योरेन्स रहेको छ । हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ३१ लाख २६ हजार रुपैयाँको सेयर किनबेच हुँदा अपी पावर कम्पनी ४५ करोड ७२ लाख १६ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा ङादी ग्रुप पावर रहेको छ भने चौथो स्थानमा शिभम् सिमेन्ट र पाँचौ स्थानमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।
बुधबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । मंगलबार ४८ खर्ब ४७ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४७ खर्ब २० अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १ खर्ब २७ अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया