काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से ५.८२ अंकले बढेर २७८२.१८ अंकमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयरहरु १ लाख ३ हजार २२५ पटक किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम बुधबारको तुलनामा ३ अर्ब २८ करोड ९८ लाख २ हजार रुपैयाँले कम हो ।
बुधबार नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ अंकमा पुग्दा कारोबार रकम १२ अर्ब १० करोड ९५ लाख २५ हजार रुपैयाँमा पुगेको थियो ।
बिहीबारको कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, रिग्दे लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्रो पावर र सुपर खुदी हाइड्रो रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा भुगोल इनर्जी पहिलो स्थानमा रहेको छ । बिहीबार भुगोल इनर्जीको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा एनएमबी हाइब्रीड फण्ड, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, अभियान लघुवित्त र ग्लोबल आइएमई ब्यालेन्स फण्ड रहेका छन् ।
बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा एसवाई प्यानल रहेको छ । एसवाई प्यानलको ३५ करोड ७० लाख १२ हजार रुपैयाँको सेयर किनबेच हुँदा ङादी ग्रुप पावर ३० करोड ९२ लाख ५९ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स रहेको छ भने चौथो स्थानमा एनआरएन इन्फ्रास्टक्चर र पाँचौ स्थानमा अपी पावर कम्पनी रहेको छ ।
बिहीबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । बुधबार ४७ खर्ब २० अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४७ खर्ब ३० अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १० अर्ब रुपैयाँले बढेको हो ।












प्रतिक्रिया