काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । विहीबार मात्रै विवादित व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको ब्युरोले शुक्रबार उनका व्यवसायिक साझेदार रहेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै अग्रवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि भट्टलाई चैत १५ गते अध्यागमन विभागले भट्टलाई कालोसुचीमा राखेको थियो । भट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ ।
उनले गैरकानुनी रुपमा आर्जेको सम्पत्ति शुद्धीकरणका लागि बैंकिङ र बिमा सम्बन्धी कसुर, सार्वजनिक सम्पत्तिको हानी, राजस्व छलीजस्ता काम गरेको भेटिएसँगै भट्टमाथि अनुसन्धान तिव्र पारिएको हो । सोही प्रकरणमा अग्रवाल पनि समातिएका हुन् । विभागले शंकर ग्रुपका सुलभ, साहिल, शुभी अग्रवालमाथि पनि विभागले अनुसन्धान गरिरहेको छ । यसबाहेक भट्टसँग सहकार्य गरेका पक्ष तथा व्यक्तिहरु माथि पनि विभागले अनुसन्धान गरिरहेको छ । उनकी श्रीमती आयुष्मा नेपाल, सासु अन्जना नेपाल लगायतमाथि पनि अनुसन्धान चलिरहेको विभाग स्रोतको भनाइ छ ।
शंकास्पद कारोबारका आधारमा भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ मंसिरमै अनुसन्धान थालेको थियो । सो पश्चात् अनुसन्धान प्रकृया रोकिएकोमा अहिले राहदानी नै रोक्का गरेर अनुसन्धान तीव्र पारिएको हो । विगतमा राजनीतिक पहुँच र निकटताका आधारमा भट्ट अनुसन्धानको दायरामै ल्याउन सकिएको थिएन ।
तर अहिले नयाँ सरकार बनेसँगै गृहमन्त्री सुदन गुरुङ तथा प्रधानमन्त्री बालेन्द्र शाहसमेतको विशेष चासोमा उनी र उनका साझेदारहरूमाथि अनुसन्धान अगाडि बढाइएको हो । यससँगै विचौलियाको सञ्जाल नै बनाएर वित्तीय क्षेत्रमा प्रभुत्व जमाएका भट्ट र भट्टका अन्य साझेदारहरू समेत विभाग तथा प्रहरीको नजरमा रहेको खुलेको छ । जसले गर्दा वित्तीय क्षेत्रमा समेत हलचल हुन थालेको उल्लेख गरिएको छ ।
यसअघि हरेक संस्थाको नियुक्तिमा समेत यस समूहले हस्तक्षेप गर्ने गरेको खुलेको थियो । तर पनि तत्कालीन सरकारहरूले भट्टलाई जोगाउदै आएकोमा बालेन नेतृत्वको सरकारले भने ‘बोल्ड’ बनेर उनीहरूमाथि अनुसन्धान अगाडि बढाएको हो ।












प्रतिक्रिया