गत साता १३ हजारले बढेको सुनको भाउ यो साता के होला ?


काठमाडौँ । नेपाली बजारमा यो साता सुनको भाउ महँगिएको छ । गत साता १३ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ यो साता भने १३ हजारले नै महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही अवधिमा चाँदी प्रतितोला १६० रुपैयाँले महँगिएको छ ।

महासंघका अनुसार अघिल्लो शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको थियो । त्यसपछि बजार खुल्दा आइतबार सुनको भाउ ५ हजारले बढेर २ लाख ८६ हजार रुपैयाँ पुग्यो ।

साताको पहिलो कारोबार दिन उकालो लागेको सुनको भाउ सोमबार भने २ हजार ५०० रुपैयाँको गिरावट आएको थियो । सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

सोमबार घटेको सुनको भाउ मंगलबार भने तोलामा ६ हजार ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै, बुधबार पनि सुन तोलामा ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार भने तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको सुनको भाउ शुक्रबार स्थिर अर्थात् बिहीबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि साताभर निरन्तर जसो बढोत्तरी देखिएको छ । अघिल्लो शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ८३० रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७२० रुपैयाँ कायम भएको थियो ।

सोमबार २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँ कायम भएको थियो भने मंगलबार तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ, बिहीबार ४ हजार ७८० रुपैयाँ र शुक्रबार ४ हजार ८३० रुपैयाँ कायम भएको हो ।

हरेक अन्तराष्ट्रिय राजनैतिक तनाव हुने संकेत हुँदा पनि अत्याधिक बढ्ने सुनको भाउ यस पटक अमेरिका–इरानको द्धन्द्धमा घटेको थियो । यस युद्धमा तेलको मूल्य बढेका कारण सुनको मूल्य घटेको विश्लेषकहरुले बताएका छन् ।

सुनमा लगानी गर्ने मुलुकहरुले सुन बेचेर डलरतर्फ लगानी बढाउदा सुनको मूल्यमा गिरावट थियो । ती मुलुकहरुले सुन बिक्री गर्न छाडेपछि पुनः सुनमा बढोत्तरी आएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

‘लगानीकर्ताहरु दैनिक उपभोग्य वस्तुतर्फ आकर्षित हुँदा केही गिरावट आएको हो ।’ उनले भने, ‘अब समय सामान्य बन्दै गयो र पहिलेकै अनुपातमा वृद्धि भएको छ ।’

उनका अनुसार, सुनले ब्याज नदिने भएकाले लगानीकर्ताहरूले यसलाई कम रुचाएका कारण मूल्य घटेको थियो । विश्व बजारमा तेलको संकट देखिएपछि सुनका लगानीकर्ताहरु सुन बेचेर डलरमा तेल खरिद गर्नतिर आकर्षित भएका थिए । जसका कारण डलर मजबुत बनेको छ भने सुन कमजोर बनेको थियो ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  ०८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।