काठमाडौँ । मध्यपूर्वमा भइरहेको युद्धले नेपाली भान्सालाई महँगो बनाएको छ । यतिबेला दैनिक उपभोग्य वस्तुहरुको मूल्य अत्याधिक बढ्दा उपभोक्ताहरु मारमा परेका छन् । भान्सामा नियमित प्रयोग हुने खाने तेलको मूल्य अधिक बढेको छ ।
प्रतिलिटर २५०/२५५ रुपैयाँ पाइने खाने तेल पछिल्ला दिनहरूमा ३५० रुपैयाँसम्म पुगेको छ नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले नोटबजारलाई जानकारी दिए । अन्य उपभोग्य सामग्रीहरूको पनि उत्पादन र आयातमा मूल्यवृद्धि र संकट हुने सम्भावना रहेको उनको भनाइ छ । खानेतेलसँगै अन्य आयातित खाद्य सामग्रीहरुको मूल्य पनि बढेको तुलाधरले बताए ।
त्यसैगरी, भटमास तेलको मूल्य पनि ११५ बाट बढेर २२० रुपैयाँ पुगेको छ भने सूर्यमूखी फुलको तेल १२५ बाट २४० रुपैयाँ पुगेको संघले कायम गरेको बजार मूल्यमा देखाइएको छ । तर संघले तोकेको मूल्यभन्दा बढी मूल्य लिने व्यापारीहरु पनि थुप्रै रहेका छन् । संघले तोकेको र व्यापारीले लिने मूल्यमा अधिक फरक देखिने गरेको छ ।
नेपालमा खाने तेलका लागि चाहिने कच्चा पदार्थ मलेसिया, युक्रेन, अर्जेन्टिना, ब्राजिल, क्यानडा लगायतका देशबाट आयात हुने गर्दछन् । अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वी मुलुकहरुबाट अन्य देशले इन्धन आयात गर्ने प्रमुख जलमार्ग हर्मुजमा इरानले अवरोध गरेको छ । यही कारण संसारभर पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ ।
इन्धनको मूल्य बढेपछि धेरै क्षेत्रमा यसको प्रभाव पर्छ । खासगरी इन्धनको मूल्यवृद्धिले औद्योगिक उत्पादनदेखि ढुवानीसम्मको लागत बढाउँदा महँगी बढ्छ ।
मध्यपूर्वमा देखिएको द्धन्द्धका कारण उत्पादनमा आएको कमी तथा आपूर्ति प्रणालीमा पुर्याएको अवरोधले कच्चा पदार्थको उपलब्धता अस्थिर बनेको छ । जसले गर्दा नेपालमा दिनदिनै खाने तेलको मूल्य बढिरहेको छ ।
यसको सबैभन्दा ठूलो असर उपभोक्ताको भान्सामा परेको छ । दैनिक रूपमा प्रयोग हुने खाने तेलको मूल्य बढ्नाले उपभोक्ताको खर्च बढिरहेको छ ।
त्यस्तै, बानेश्वरमा किराना पसल सञ्चालन गर्दै आएका अशोक श्रेष्ठ सम्पूर्ण उपभोग्य वस्तुको मूल्य बढेको बताउँछन् । ‘हामीले खरिद गर्दा नै महँगो परेको छ,’ उनले भने, ‘चुनावको समयदेखिनै बढेको मूल्य निरन्तर बढिरहेको छ ।’ उनका अनुसार, विशेषगरी दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, तरकारी लगायतको मूल्य अधिक बढेको छ । ढुवानी भाडा पनि महँगो भएको छ ।
यता, नेपालमा कच्चा पदार्थ सबै अन्य मूलुकबाट आयात हुने हुँदा वस्तुको लागत बढी पर्न गई मूल्य बढेको नेपाल चामल, तेल, दाल उत्पादक संघका पूर्व अध्यक्ष सुबोध कुमार गुप्ताले बताए । ‘दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि तत्कालको लागि अभाव सिर्जना भने हुँदैन,’ उनले भने, ‘उत्पादन लागत बढेकाले मूल्य बढेको मात्र हो ।’
उनका अनुसार, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा वनस्पति तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको उतारचढावले पनि नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । नेपाली रुपैयाँ कमजोर हुँदा आयातित वस्तु झन् महँगो परेको छ ।
द्वन्द्वको अर्को प्रभाव देशमा प्लास्टिकजन्य कच्चा पदार्थमा पनि परेको उनले बताए । विशेष गरी मिनरल वाटर र जार पानीको आपूर्तिमा समस्या देखिन थालेको उनको भनाई छ ।
बेलैमा सरकारले सक्रियता नदेखाउँदा उपभोक्ताहरू महँगीको मारमा परिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । मध्यपूर्वमा द्वन्द्व शुरू हुने बेलैमा ठोस निर्णय लिनुपर्नेमा सरकार मूकदर्शक बनेर बसेको उनको भनाइ छ । सरकारले उद्योगीहरूलाई सहजीकरणका लागि करका दायरा चाहिँ नघटाउने र मूल्य मात्रै अन्तराष्ट्रिय बजारको बहानामा मूल्य बनाउने काम गरेको उनको दाबी छ । ‘त्यसलाई नियमन र नियन्त्रणको दायित्व भनेको राज्यको हो, तर राज्य यसमा निरीह भइरहेको छ,’ उनले भने ।
द्वन्द्वले हरेक परिवारलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ । पछिल्लो समय देखिएको ग्यास अभाव र अन्य खाद्यान्न सामग्रीको मूल्यवृद्धि उपभोक्तालाई त्रसित बनाएको छ । यस्तो अवस्थामा अनावश्यक ग्यास तथा पेट्रोलियम पदार्थको भण्डारण नगर्न नेपाल आयल निगमले अनुरोध गरेको छ ।
यसका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि मूल्यको अस्वाभाविक वृद्धि र कालोबजारीलाई अनुगमन गरिरहेको विभागका निर्देशक नरहरी तिवारीले बताए । उनका अनुसार, व्यवसायीसँगै विवरण मागेर सरकारले जानकारी दिने गर्छ । सरकारसँग वास्तविक खाद्य वस्तुको तथ्यांक नहुँदा अनुगमनमा समस्या आएको उनले बताए । पछिल्लो समय कच्चा पदार्थको मूल्य बढेर आउँदा बजार भाउ बढेको व्यवसायीले जानकारी गराएको उनको भनाइ छ ।










प्रतिक्रिया