काठमाडौँ । अर्थमन्त्री डा. स्वर्डिम वाग्लेले अर्थमन्त्रीको पद सम्हालेसँगै अर्थतन्त्रसँग सम्बन्धित पक्ष र व्यक्तिहरुसँगको भेट तिब्र बनाएका छन् । यस क्रममा उनले सोमबार सेयर दलाल व्यवासयीहरुसँग भेट गरेका छन् ।
नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिसँगको भेटका क्रममा अर्थमन्त्री वाग्लेले सेयर बजारका समसामयिक विषयमा जानकारी लिएका छन् । साथै उनले साना लगानीकर्ताको हीतमा चासो व्यक्त गर्दै बजारका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएका थिए ।
बजारमा देखिएको अस्थिरतालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिएका उनले लगानीकर्ताहरूलाई नआत्तिन र निराश नहुन आग्रह गरेका थिए । बजार सुधारका लागि विगतदेखि भएका अध्ययन तथा अनुसन्धानलाई प्रभावकारी रुपमा कार्यान्वायन गर्दै बजारको दीर्घकालीन विकासमा सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेको भनाई थियो ।
अर्थमन्त्रीसँगको भेटमा के के भयो ? एशोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीको भनाई सुन्नुहोस् ।
एशोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीका अनुसार बजारमा पछिल्ला दिनमा देखिएको गिरावटका साथै पछिल्ला गतिविधिका सम्बन्धमा छलफल गर्न अर्थमन्त्री वाग्लेले दलाल व्यवसायीहरुलाई बोलाएका थिए । अर्थमन्त्रीले भेटका क्रममा व्यवसायीलाई पक्राउ गर्ने वा थुन्ने सरकारको नीति नभएको बताउँदै अहिले बजारमा चलेको जस्तो व्यापक दमन गर्ने काम सरकारले नगर्ने बताएको उनले बताए ।
नेपाल ग्रे–लिस्टमा परेका कारण अन्तर्राष्ट्रिय स्तरमै पहिचान भएका केही गम्भीर आर्थिक अपराधमा कारबाही नगर्दा देशलाई ठूलो समस्या पर्ने भएकाले यस्तो कदम चालिएको अर्थमन्त्रीले छलफलमा बताएका थिए ।

रेग्मीका अनुसार सरकारले नगरी नहुने अवस्थामा मात्र कारबाही गर्ने र देशलाई ग्रे–लिस्टबाट निकाल्न अहिलेको कदम आवश्यक रहेको प्रतिकृया अर्थमन्त्रीले दिएका थिए । यो काम अहिलेको सरकारले मात्रै थालेको नभई अघिल्ला सरकारकै समयमा अनुसन्धान भएर रोकिएको विषयलाई अहिले कार्यान्वयन मात्र गरिएको पनि अर्थमन्त्रीले बताएका थिए ।
उद्योग सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने व्यवसायीलाई आतंकित बनाउने उद्देश्य नभएको र निजी क्षेत्रलाई कमजोर पारेर देशको समृद्धि सम्भव नहुने सन्देश दिन आग्रह गरिएको पनि उनले बताए ।
रेग्मीका अनुसार अर्थमन्त्रीले शेयर बजारबारे फैलिएका ठूला लगानीकर्ता वा ब्रोकरमाथि कारबाही समेत हुने हल्ला गलत भएको बताएका थिए । सरकार कुनै पक्षमा पूर्वाग्रही नभएको र सेयर बजार पारदर्शी तथा टेक्नोलोजी–आधारित क्षेत्र भएकाले यसलाई सकारात्मक रूपमा हेरिएको बताएका थिए । सरकारको लक्ष्य सबै क्षेत्रलाई शेयर बजारजस्तै पारदर्शी र बैंकिङ प्रणालीमार्फत कारोबार हुने बनाउने रहेको उनले उल्लेख गरे ।
नेपाललाई डिजिटल बनाउने उद्देश्यले करिब ९० अर्ब रुपैयाँ बराबरको अमेरिकी सहयोग लिइएको र त्यसतर्फ प्रक्रिया अघि बढिरहेको पनि अर्थमन्त्रीले बताएको उनले जानकारी दिए । कुनै ब्रोकर वा लगानीकर्तालाई लक्षित गरेर कारबाही नगर्ने, नियमित नियामक निकायको काम भने आफ्नै ढंगले चलिरहने कुरा पनि अर्थमन्त्रीले स्पष्ट पारेको उनले बताए ।
रेग्मीका अनुसार सेयर बजार सुधारका लागि विगतमा भएका अध्ययन, प्रतिवेदन र घोषणापत्रका बुँदाहरूलाई प्राथमिकता निर्धारण गरी चरणबद्ध रूपमा कार्यान्वयन गरिने अर्थमन्त्रीको प्रतिबद्धता रहेको उनले बताए ।
ठूलो अर्थतन्त्र बनाउने क्रममा शेयर बजार स्वतः बलियो हुन्छ, छोटो अवधिमा उतारचढाव स्वाभाविक भए पनि मध्यम र दीर्घकालमा यो लगानीकर्ताका लागि राम्रो समय भएको उनले बताएका थिए ।
त्यस्तै साना लगानीकर्तालाई जोगाउन आवश्यक रहेको, ठूला लगानीकर्तालाई त्यति असर नपर्ने भए पनि साना लगानीकर्ता आतिने भएकाले उनीहरूको संरक्षणका लागि संस्थागत लगानीकर्तालाई बजारमा सक्रिय गराउनुपर्ने सुझाव पनि दिइएको रेग्मीले बताए ।

बैंक तथा वित्तीय संस्थाले पाएको शेयर ६ महिनासम्म बेच्न नपाउने व्यवस्थामा लचिलोपन ल्याउने, सरकारी कोषको रकम बजारमा परिचालन गर्ने जस्ता उपाय सुझाइएको उनले बताए ।
दलाल व्यवसायीहरुले बजार धेरै घटेको खण्डमा फेरी उठ्न गाह्रो हुनेतर्फ अर्थमन्त्री एवं सरकारको ध्यानाकर्षण गराउँदै बजारका विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका थिए ।
पुँजीगत लाभकर ‘अन्तिम’ हो कि ‘अग्रिम’ हो भन्ने विषयलाई नीतिगत रुपमा प्रष्ट पार्न आग्रह गरेका उनीहरुले बैंक तथा वित्तीय संस्थालाई सेयर लगानीमा लगाइएको ६ महिनाको समय सीमा हटाउन सुझाव दिएका थिए । निष्क्रिय रहेको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’ कार्यान्वयन गर्न नियमनकारी निकायलाई निर्देशन दिन माग गरेका उनीहरुले गैर आवासीय नेपालीलाई बजारमा सहज रुपमा प्रवेशको व्यवस्था गर्न सुझाव दिएका थिए ।










प्रतिक्रिया