अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, ८३ अंकले बढ्यो नेप्से


काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लगानीकर्तालाई नआत्तिन आश्वासन दिएपछि सेयर बजारमा सुधार आएको छ । नयाँ सरकार बनेपछि तिव्र रुपमा ओरालो लागेको सेयरबजारबारे स्टक ब्रोकर एसोसियशन लगायतका संस्थाले अर्थमन्त्रीसंग सरकारको धारणा मागेका थिए । अर्थमन्त्रीले सरकार सेयर बजारप्रति उदार रहेको र लगानीकर्तालाई दुःख नदिने आश्वासनपछि नेप्से उकालो लागेको हो ।

सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल ३४५ कम्पनीका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयरहरु १ लाख २४ हजार ९३ पटक किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्से १०५.५० अंकले घटेर २६७६.६८ अंकमा पुग्दा कारोबार रकम १२ अर्ब ३८ करोड ९ लाख २३ हजार रुपैयाँमा पुगेको थियो ।

सोमबारको कारोबारमा २६४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घट्दा एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा उपकार लघुवित्त, भुजुङ हाइड्रो पावर, रिडी पावर कम्पनी, नेश्नल हाइड्रोपावर र सुपरखुदी हाइड्रोपावर रहेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा लक्ष्मी बैंक डेभेन्चर पहिलो स्थानमा रहेको छ । सोमबार लक्ष्मी बैंक डेभेन्चरको सेयर मूल्य करिब ३.१० प्रतिशतले घटेको छ । त्यस्तै, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा सेन्चुरी डेभेन्चर, लक्ष्मी च्यालु फण्ड, रिलायन्स स्पिनिङ मिल्स र आइसीएफसी फाइन्यान्स रहेका छन् ।

सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । रिलायन्स स्पिनिङ मिल्सकोे १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच हुँदा हिमालयन रिइन्स्योरेन्स ५४ करोड ९२ लाख ९८ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ भने चौथो स्थानमा अपी पावर कम्पनी र पाँचौ स्थानमा रिडी पावर कम्पनी रहेको छ ।

सोमबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । आइतबार ४५ खर्ब ५० अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४६ खर्ब ९२ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।