नेपाली उच्चपदस्थ व्यक्तिले स्वीस बैंकमा जम्मा गरेको पैसाको अनुसन्धान गरिने


काठमाडौँ । नेपाली उच्चपदस्थ व्यक्तिले स्वीस बैंकमा जम्मा गरेको पैसाको अनुसन्धान गरिने भएको छ । गृहमन्त्री सुधन गुरुङले नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेनगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  ०७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।