वैशाख ५ गतेदेखि हरेक शनिबार असनमा गाडी निषेध


काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेको छ । वैशाख ५ गतेदेखि लागू हुने उक्त निर्णय असन क्षेत्रको मौलिक, सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको हो ।

कार्यवाहक मेयर प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडा अध्यक्ष योगेश खड्गी, प्रशासन विभाग प्रमुख महेश काफ्ले लगायत सरोकारवाला निकाय, स्थानीय संघसंस्था तथा समुदायका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो, यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरूको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ, थालिएको कामलाई दिगो बनाऔँ ।’

आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

नगरपालिकाका अनुसार ‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ। यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।

यो क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  १७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।