सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन


काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो व्यक्त गरेका छन् । सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिए ।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीसमेत उपस्थिति थिए ।

विसं २०७६ असोज १८ मा संसद् भवन निर्माणका लागि तुन्डी शेख जेभीसँग सात अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो । प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म छ पटक समय थप भइसकेको छ । पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण सम्पन्न भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बानियाँ जेभीसँग दुई अर्ब ३४ करोड रुपैयाँ र छाना निर्माणका लागि चेनलिङ्क इञ्जिनियरिङसँग तीन करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।