काठमाडौँ । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता घटेको छ । चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिनामा वैदेशिक लगानी प्रतिवद्धता ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको स्वीकृती भएको छ ।
जुन गत आर्थिक वर्ष २०८१-८२ को सोही समयको तुलनामा २७.९० प्रतिशतले कम हो । गत आवमा यस्तो प्रतिवद्धता ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको स्वीकृत भएको थियो ।
उद्योग विभागका अनुसार साउनदेखि चैतसम्मको अवधिमा अटोमेटिक रुटबाट ४२६ उद्योगमा ४ अर्ब ९ करोड ८७ लाख रुपैयाँ र अप्रभल रुटमार्फत १८९ उद्योगमा ३७ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।
सूचना प्रविधि र पर्यटन क्षेत्रमा आकर्षण बढ्दो
पछिल्लो समय वैदेशिक लगानी प्रतिवद्धता उद्योग सञ्चालनका आधार पर्यटनमूलक र पर्यटन क्षेत्रमा धेरै देखिन्छ । नौ महिनामा सूचना प्रविधिमूलक क्षेत्रमा ३४६ वटा उद्योगका लागि प्रतिवद्धता आएको छ ।
सो उद्योगमा एक अर्ब ४५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिवद्धता स्वीकृत भएको छ । पर्यटनमूलक क्षेत्रका १६४ उद्योगका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
लगानी रकमका आधारमा भने कृषि तथा वनजन्य क्षेत्रमा आकर्षण देखिएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधीमा १६ उद्योगका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । जुन कुल लगानी प्रतिबद्धताको सबैभन्दा ठुलो हिस्सा हो ।
त्यस्तै, उत्पादनमूलक क्षेत्रका ३८ उद्योगका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ लगानी प्रस्ताव भएको छ भने उर्जामूलक क्षेत्रका २ उद्योगमा २ करोड ३४ लाख २५ हजार रुपैयाँ, खनिजमा ११ करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रमा ३ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ लगानी प्रस्ताव भएको छ ।
सो तथ्यांकका आधारमा कृषि, पर्यटन र सूचना प्रविधिमूलक क्षेत्रमा लगानी प्रतिबद्धता सकारात्मक देखिएको छ । तर नेपालका प्रचुर सम्भावना भएको ऊर्जा र पूर्वाधार क्षेत्रमा भने विदेशी लगानीमा भने आकर्षण न्यून देखिएको छ । ऊर्जा र पूर्वाधार क्षेत्रमा सरकारको नीतिगत अस्थिरता, झन्झटिलो प्रक्रिया लगायतको कारण विदेशी लगानीकर्ता ऊर्जा र पूर्वाधार क्षेत्रमा आकर्षण नदेखिएको तथ्यांकले देखाएको छ ।
५९९ वटा साना उद्योग दर्ता
नेपालमा साना, मझौला र ठूला उद्योगहरुमा लगानी प्रतिवद्धता आउने गरेको छ । जसमा यस वर्षको नौ महिनाको अवधीमा आएको लगानी प्रतिबद्धताको तथ्यांक हेर्दा साना उद्योगमा आकर्षण बढी देखिएको छ ।
तथ्यांक अनुसार नौ महिनामा ५९९ वटा साना उद्योग दर्ता भएका छन् भने ८ मझौला र ८ ठूला उद्योग दर्ता भएका छन् ।










प्रतिक्रिया