एक वर्षमा ६२ प्रतिशतले बढ्यो सुनको भाउ


काठमाडौँ । पछिल्लो एक वर्षमा बहुमूल्य पहेंलो धातुको मूल्य ६२ प्रतिशतले बढेको छ । एक वर्षअघि २०८१ चैत ३० गते प्रतितोला सुन मूल्य एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

२०८२ को सोही समयमा मूल्य बढेर २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सो मूल्य एक वर्षमा ६२.६८ प्रतिशतले अर्थात् १ लाख १० हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा सुनको भाउमा निक्कै उतारचढाव आएको देखिन्छ । सुनको मूल्य प्रत्येक दिन र महिनामा फरक पर्छ । तर, वार्षिक रुपमा तथ्यांक हेर्दा एक वर्षमा प्रत्येक महिना हजारौँ रुपैयाँ प्रतितोला बढेको देखिन्छ ।

सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि भाउले एकपछि अर्को कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिले नेपाली बजार पनि तातेको छ ।

२०८२ साल लागेसँगै दैनिक बढ्दै गएको सुनको मूल्य वृद्धि भदौ महिनादेखि अत्याधिक बढ्न सुरु भएको थियो, जतिबेला सुनले पहिलो पटक ऐतिहासिक मूुल्य २ लाखको सीमा पार गरेको थियो । भदौ १३ गते पहिलो पटक सुनको मूल्य २ लाख माथि पुगेको हो । त्यसपछि विशेषगरी चाडपर्वको चटारो रहेको असोज महिनामा सुनले झन् ठूलो छलाङ मार्दै असोज ३० गते साढे २ लाख नाघेको थियो ।

यसरी सुनको मूल्यमा आएको बढोत्तरीले सुनको बजारमा सुनको माग र आपूर्तिमा ठूलो असन्तुलन समेत देखिएको थियो । वर्षकै सबैभन्दा डरलाग्दो रेकर्ड भने माघ महिनामा कायम भयो, जहाँ नेपाली सुन बजारको इतिहासमै पहिलो पटक सुन ३ लाखको सीमा नाघेको पुग्यो । माघ १३ गते ऐतिहासिक मूल्य पुगेको सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो ।
माघ महिनामा ऐतिहासिक मूल्यमा पुगेको सुनको मूल्यमा उच्च गिरावट पनि आएको थियो । ३ लाख ३९ हजार पुगेको सुनको भाउ तीन दिनमा नै ५२ हजारसम्मको गिरावट आएको थियो । त्यतिबेला अमेरिकी केन्द्रीय बैंकसम्बन्धी एक महत्वपूर्ण राजनीतिक–आर्थिक खबरपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा उल्लेखनीय उतारचढाव देखिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ (फेड) का वर्तमान अध्यक्ष जेरोम पावेलको स्थानमा पूर्व गभर्नर केभिन वार्सलाई नयाँ अध्यक्षका रूपमा नियुक्त गर्ने तयारीमा रहेको संकेत दिएका थिए । यो संकेतपछि बजारले अमेरिकाको मौद्रिक नीतिमा सम्भावित परिवर्तन हुने अनुमान गर्न थालेको सुनको मूल्यमा उच्च गिरावट आएको थियो ।

त्यसपछि उच्च मूल्यमा पुगेको सुनको मूल्य एकैदिन १५÷२० हजारको उत्तरचढाव देखिदै आएको थियो । फागुनमा पनि सुनको मूल्य ३ लाख माथि नै कायम भएको थियो यद्यपि, वर्षको अन्तिम महिना चैतमा भने मूल्य केही कमी आएको थियो । त्यससँगै सुनको भाउ चैत १० गते २ लाख ७२ हजारसम्म झरेको. थियो । त्यस पश्चात् भने सुनको मूल्य सामान्य घटबढ हुँदै पुन ३ लाख नजिक पुगेको थियो ।

सामान्यतया युद्ध र अनिश्चितताको समयमा सुरक्षित लगानीका रूपमा हेरिने सुन गत फेब्रुअरी २८ देखि डोनाल्ड ट्रम्प नेतृत्वमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि भने सुनको मूल्य गिरावट आएको थियो । इरानका अधिकारी इब्राहिम जाबरीले हर्मुज जलडमरु बन्द गरिएको घोषणा गरेपछि तेलको मूल्य आकस्मिक रूपमा उकालो लागेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि सुनको मूल्यमा गिरावट आएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि एक वर्षमा तोलामा २ हजार ९४० रुपैयाँले महँगिएको छ । २०८१ को अन्त्यमा एक हजार ९६० रुपैयाँ रहेको चाँदी २०८२ को अन्तिम दिनसम्म आइपुग्दा ४ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि गत माघ १५ गते ऐतिहासिक मूल्य कायम भएको थियो । सो दिन सुन प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १२ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।