नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए ।
उनले भने,“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत १९ करोड २४ लाख २२ हजार २७० रुपैयाँ , सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत तीन करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ , यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा २३ लाख २९ हजार ९९० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत सात लाख ७१ हजार ५२८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।”
यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख नेपालीले बताए । यो अभियानअन्तर्गत ‘बिलबुक’ नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो ।
“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्त–दुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो”, उनले भने, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनको लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।”
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिए ।
“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, उनले भने, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।” गत आव २०८१-८२ को यही अवधिमा यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।












प्रतिक्रिया