काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सुरुङमार्ग सञ्चालनका लागि यसै साता सेवा प्रदायकसँग सम्झौता गर्ने तयारी गरिएको हो । ४ कात्तिक २०७६ मा निर्माण थालिएको सुरुङ अब सेवा प्रदायकसँगको सम्झौतासँगै सञ्चालनमा आउने छ ।
सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको जिम्मा भने चिनियाँ कम्पनीले पाएको छ । आयोजनाले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनी ‘चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट’ र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ (युसिन–एआरटी जेभी) लाई ५ वर्षका लागि सञ्चालनको जिम्मा दिने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सवारीको आकार र भारका आधारमा प्रवेश र बर्हिगमनका लागि छुट्टाछुट्टै शुल्क तोकेको छ । जसअनुसार हलुका सवारीसाधन (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस) काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शूल्क निर्धारण गरिएको छ भने मध्यम सवारीसाधन (मिनी बस, मिनी टिपर, मिनी ट्रक) प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शूल्क तग गरिएको छ ।
यस्तै, भारी सवारीसाधन (बस, सिंगल रियर एक्सल ट्रक) प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै, धेरै चक्का भएका (मल्टी–एक्सल ट्रक र भारी उपकरण)ः प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ लिने तयारी भएको छ ।
सुरुङमार्गको यात्रालाई सहज र झन्झटमुक्त बनाउन ’आर–ट्याग’ र सवारी साधनअनुसार तय गरिएको फरक–फरक दररेट सार्वजनिक गरिएको छ ।
के हो आर–ट्याग र यसले कसरी काम गर्छ ?
आर–ट्याग एक प्रकारको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधि हो । यो सवारीसाधनको अगाडिको सिसामा टाँसिने एउटा सानो चिप हो ।
सुरुङमार्गको टोल गेटमा जडान गरिएको सेन्सरले गाडी गुडिरहेकै अवस्थामा उक्त चिपलाई ’रिड’ गर्छ र सवारीधनीको प्रिपेड खाताबाट तोकिएको दस्तुर (जस्तैः कारको हकमा ६०–६५ रुपैयाँ) स्वतः काटिन्छ । यसको सबैभन्दा ठुलो फाइदा भनेको शुल्क तिर्नकै लागि गाडी रोकेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनु हो, जसले इन्धनको खपत घटाउनुका साथै इन्जिनको आयु समेत बढाउन मद्दत पु¥याउँछ
कसरी लिने चिप वा आर–ट्याग ?
यो चिप लिनु मोबाइलको सिम कार्ड लिए जस्तै सरल प्रक्रिया छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा विभिन्न वाणिज्य बैंकहरूले यो सेवा सुरु गर्दैछन् ।
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल फ्रि) सङ्कलनका लागि विशेष सुविधा दिने नयाँ व्यवस्था गरेको छ ।
सवारीधनीले ‘क’ वर्गका वाणिज्य बैंकका शाखा वा सुरुङमार्ग नजिकै रहने विशेष काउन्टरबाट यो चिप लिन सक्नेछन् ।यसका लागि सवारीको ब्लुबुक (दर्ता प्रमाणपत्र), धनीको फोटो र केवाईसी फारम भर्नुपर्ने हुन्छ । यो चिप बैंक खातासँग लिंक हुने भएकाले खातामा सुरुङ प्रयोग गर्न पुग्ने ब्यालेन्स वा प्रिपेड रिचार्ज हुनुपर्नेछ ।
बैंकका कर्मचारी वा प्राविधिकले नै सवारीको विन्डस्क्रिनमा यो चिप वा ’ह्यान्ड–ट्याग’ टाँसिदिनेछन् ।
यद्यपी सुरुवाती ६ महिनासम्म नगद तिर्ने विकल्प खुला रहने छ । तर, नगद बुझाउने गाडीका कारण जाम हुन सक्ने र उनीहरूलाई जरिबाना स्वरूप केही बढी शुल्क लाग्न सक्ने छ । यद्यपी जरिवानाको रकम भने तय भएको छैन ।
समयमै ’आर–ट्याग’ जडान गर्नु नै सवारीधनीका लागि लाभदायक र आधुनिक विकल्प हुन नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थी बताउँछन् । ’आर–ट्याग’ जडान गर्ने सवारी साधनमा केही छुटको पनि व्यवस्था हुने पन्थीले बताए ।
प्राविधिक पक्ष
सुरुङमार्गमा सुरक्षाका दृष्टिकोणले निकै उच्च सतर्कता अपनाइएको छ । सुरुङभित्र २४ सै घण्टा सीसीटीभी निगरानी, अत्याधुनिक भेन्टिलेसन सिस्टम र आकस्मिक अवस्थाका लागि ’इमर्जेन्सी एक्जिट’ को व्यवस्था गरिएको छ ।
सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । यसैगरी, डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ । यस्ता सवारीले पुरानै घुमाउरो सडक प्रयोग गर्नुपर्नेछ ।
कुल २,६८८ मिटर लामो उक्त सुरुङले नौबिसे काठमाडौँ सडकखण्डको यात्रा करिब तीन किलोमिटर छोट्ट्याउने छ ।
यो सुरुङले उकालो, घुम्ती र धेरै जाम हुने क्षेत्र छल्न सहयोग पु¥याउने पन्थी बताउँछन् ।
यो सडक खण्ड भएर दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्छन्। जसमध्ये ७ देखि ८ हजार चार पाङ्ग्रे सवारीसाधन यो सडक खण्ड भएर दैनिक आवतजावत गर्ने आकलन गरिएको छ ।
सवारीको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको छ । यस्तै चिह्न, संकेत निर्दिष्ट गरेकोबाहेक ओभरटेक गर्न, युटर्न गर्न, अकस्मात् लेन परिवर्तन गर्न र सवारी रोक्न, विशेष परिस्थितिबाहेक हर्न बजाउन पनि रोक लगाइएको छ ।
सुरुङमार्गभित्र सवारीसाधन बिग्रिएमा जानकारी गराउनुपर्नेछ । सुरुङमार्गभित्र जुनसुकै बखत यात्रा गर्दा सवारीको हेडलाइट बाल्नुपर्ने आवश्यकताअनुसार फगलाइट, टेललाइट तथा अन्य सुरक्षाको लाइट उपयुक्त तवरबाट प्रयोग गर्नुपर्ने बताइएको छ ।












प्रतिक्रिया