यूएईसहितका खाडी मुलुकका लागि पुनः श्रम स्वीकृति खुला


काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः खुल्ला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै पहिला लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो ।

मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाएको थियो ।

परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको हित र मागलाई ध्यानमा राखी पुनः श्रम स्वीकृति खुला गरिएको विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।