काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा विद्युतीय कार आयात झन्डै १० प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ७ हजार ९६७ वटा विद्युतीय कार आयात भएकोमा चालु वर्ष २०८२/८३ को सोही अवधीमा ९.९७ प्रतिशतले घटेर ७ हजार १७३ वटा मात्र आयात भएको छ ।
चालु आर्थिक वर्षमा कुल १६ अर्ब ६६ करोड रुपैयाँको विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ५० किलोवाटसम्मका २ हजार ५०६ वटा, ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ८३ वटा, १०१ देखि २०० किलोवाटसम्मका ५७४ वटा र २०१ किलोवाट माथिका ८ वटा ईभी भित्रिएका छन् ।
चालु आर्थिक वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको छ । ९ महिनाको अवधिमा ४ हजार १४० वटा पेट्रोल कार आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो । गत वर्ष चैतसम्म कुल २ हजार ७४२ वटा पेट्रोल कार आयात भएको थियो ।
सरकारले विद्युतीय सवारी साधन आयातलाई प्राथमिकता दिएको भए पनि पछिल्ला दिनमा यसको आयात भने घट्दो क्रममा रहेको छ । मुलुकमा एकातिर इन्धन संकटको जोखिम चुलिँदै जाने र अर्कोतिर विद्युतीय गाडीको सट्टा इन्धन खपत गर्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा नयाँ चुनौती थपिएको छ ।










प्रतिक्रिया