थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो


थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् ।

बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
“अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहेएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “सुकुमबासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उनले जानकारी दिए ।

सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।