काठमाडौँ । सार्वजनिक यातयातको भाडा फेरी पनि ५ प्रतिशतले वृद्धि गरिएको छ । अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका निर्देशक मणि भुसालले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि पुष्टि गरेका हुन् ।
यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ । यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
यो अघिल्लो मूल्यको तुलनामा ३०।४१ प्रतिशतको वृद्धि हो । इन्धनमा भएको यही मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ ।
यसअघि गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१।६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइ डिजेलमा ५५ रुपैयाँ बढी पुगेपछि यातायात व्यवसायीहरू भाडा पुन समायोजन गर्न माग गर्दै आएका थिए । विभागले वैशाख ९ गते मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४ प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको थियो ।












प्रतिक्रिया