काठमाडौँ । चीनसँग जोडिएको तातोपानी नाका ५ दिनदेखि ठप्प रहेको छ । गत बुधबारदेखि इको पहिरोले नाका सडक पूर्ण रूपमा बन्द भएको हो ।
इको पहिरो क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीमा मिसिएकाले मालवस्तु बोकेका कन्टेनरलगायत सम्पूर्ण यातायातका साधन पूर्ण रूपमा बन्द भएका छन् । इको पहिरो विगत केही वर्षदेखि नै निरन्तर झर्ने र सामान्य वर्षाले पनि सडक भासिँदै आएको थियो ।
पाँच दिनदेखि सडक बन्द हुँदा चीनबाट तातोपानी नाका हुँदै तातोपानी भन्सार कार्यालयमा जाँचपासका लागि आउन थालेका कन्टेनरका फलफूलजन्य सामान कुहिन थालेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए ।
उनका अनुसार, इको पहिरोका कारण चीनबाट आएका दर्जन बढी कन्टेनरमा रहेका स्याउ, लत्ताकपडा, विद्युतीय सामग्रीलगायतका सामान बाटोमै रोकिएका छन् ।
इको पहिरो खुलाउन ठुला मेसिन प्रयोग गर्नुपर्ने भएको भोटेकोशी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुमार श्रेष्ठले बताएका छन् । इको पहिरोबाट लेदो आइरहेको छ भने तलबाट सडक भासिँदै गएको उनले जानकारी दिए ।
उनका अनुसार, ठुला मेसिन प्रयोग गरेर इको पहिरो खुलाएमा पहिरो माथिका २५० भन्दा बढी घरधुरी, गुम्बा, विद्यालय, स्वास्थ्य चौकीलगायतका भौतिक संरचना बग्ने उच्च जोखिम रहेको छ । पहिरो माथिका बस्ती संरचना जोगाउँदै बन्द सडक खुलाउन प्राविधिक टोली आवश्यक रहेको उनको भनाइ छ ।
‘सडक भासिएर भोटेकोशी नदीमा मिसिएपछि सवारी आवागमन ठप्प छ भने दर्जनौं कन्टेनर खासामा अड्किएका छन् ।’ उनले भने, ‘लगातारको वर्षासँगै बुधबार माथिबाट आएको लेदोले सडक पुरिएसँगै सडक भास्सिएर खसेको थियो ।’
अर्बौं राजस्व संकलन गरेता पनि यो ठाउँलाई सरकारले बेवास्ता गरेको उनको गुनासो छ । बर्षौँपछि ठेक्का सम्झौता भई काम सुरु गरिसकेको थियो तर सो काम पनि रद्द भएको उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार, यसअघि सडक डिभिजन कार्यालय चरिकोटले करिब ४९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता गरी पहिरो नियन्त्रणका लागि पिल्लर निर्माण सुरु गरिसकेको थियो । तर, परराष्ट्र मन्त्रालयबाट आएको पत्रपछि काम रोकियो । पत्रअनुसार उक्त खण्डको निर्माण तथा पहिरो नियन्त्रण चिनियाँ कम्पनीले गर्ने भनिएको छ । तर, चिनियाँ कम्पनी निर्माणस्थलमा आएको छैन । अब यो वर्खापछि काम गर्ने भनिएको छ ।
अर्बौँ रुपैयाँको वस्तु तथा सामान आयात हुने तातोपानी नाकाबाट निर्यात भने शून्य रहेको छ । नाका सञ्चालन भएको लामो समय बितिसक्दा पनि मुलुकले निर्यात भने गर्न नसकेको भन्सार विभागको तथ्यांकले जनाएको छ । तातोपानी भन्सार हुँदै चीनतर्फबाट वार्षिक अर्बौँको सामान आयात हुने गरेको भन्सारका सूचना अधिकारी तुलबहादुर पाण्डेले बताएका छन् ।
उनका अनुसार, अहिले पहिरोका कारण नाका बन्द हुँदा चीनतर्फबाट आयात भएका कन्टेनरहरु बाटोमा नै अलपत्र परेका छन् । यस नाकाबाट विशेषगरी फलफुल, कपडा लगायतका सामानहरु आयात हुने गरेको छ ।
‘चीनबाट आयात भएको १०÷१२ कन्टेनर फलफुल बिग्रने अवस्थामा पुगेको छ ।’ उनले भने, ‘५/६ दिन भइसक्यो, नाकाको हालत यो छ, दर्जनभन्दा बढी कन्टेनर इकोपारि थन्किएका छन् ।’
गत असारमा पनि बाढीका कारण करिब २ महिना नाका पूर्ण रुपमा बन्द भएको थियो । यसरी हरेक वर्ष नाका बन्द हुँदा राजस्व संकलनमा कमी आउने उनले बताए ।
चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) मा यो नाकाबाट ३२ अर्ब ८५ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा आयात घटेको छ । गत आर्थिक वर्षको सोही समयमा ३४ अर्ब १४ करोड ३ लाख रुपैयाँको वस्तु तथा सामान आयात भएको थियो ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २६ अर्ब ६३ करोड १० लाख रुपैयाँको वस्तु तथा सामान आयात भएको थियो । यो वर्ष भने उक्त नाकाबाट ७१ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात पनि भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया