काठमाडौँ । मध्यपूर्व युद्धको असर नेपालको पर्यटक क्षेत्रमा देखिएको छ । युद्धका कारण पर्यटन क्षेत्रमा मुख्य सिजन मानिने अप्रिल महिनामा नै पर्यटक आगमनमा गिरावट आएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा १ लाख ७ हजार ९३४ जना पर्यटक भित्रिएका छन् । सो पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधीको तुलनामा ७.३ प्रतिशत कम भएको तथ्यांकमा उल्लेख गरिएको छ । गत वर्ष अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक जना भित्रिएका थिए ।
बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ जना पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो ।
त्यसपछि एसियाली राष्ट्रबाट २६ हजार ७२६ जना पर्यटक भित्रिएका छन् । त्यस्तै, युरोपबाट २१ हजार ९८८ जना, ओसिनियाबाट ५ हजार ८९८ जना, पश्चिम एसियाबाट एक हजार ६९७ जना, अफ्रिकी मुलुकबाट ३१५ जना र अन्य मुलुकबाट ६ हजार ८४६ जना पर्यटक नेपाल भित्रिएका छन् ।
देशगत तथ्यांक हेर्दा सबैभन्दा बढी भारतबाट २५ हजार १९६ जना पर्यटक भित्रिएका छन् । त्यसैगरी, दोस्रोमा चीनबाट ११ हजार ७२२ जना पर्यटक भित्रिएका छन् भने तेस्रोमा अमेरिकाबाट ८ हजार ७२४ जना पर्यटक भित्रिएका छन् ।
मार्च/अप्रिललाई पर्यटकीय मौसम, ट्रेकिङ यामलगायत पक्षका कारण पर्यटकको आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । यस वर्षको मुख्य सिजनमा नै मध्यपूर्वमा चर्किंदो युद्धले अन्तरराष्ट्रिय उडान प्रभावित भई पर्यटक आगमनमा गिरावट आएको छ । विशेषगरी यो सिजनमा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने बोर्डले जनाएको छ ।










प्रतिक्रिया