काठमाडौँ । भारतले गुणस्तर नियन्त्रणको बहानामा चिया निर्यातमा कडाइ गरेपछि नेपाली चिया क्षेत्रमा ठूलो संकट उत्पन्न भएको छ ।
भारतीय चिया बोर्डले गत शुक्रबारदेखि नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षण प्रतिवेदनको व्यवस्था गरेपछि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा रोकिएको हो ।
भारतले नयाँ व्यवस्था गरेपछि नेपाली चिया निर्यात ठप्प भएको मेची भन्सारका सूचना अधिकृत ईश्वर कुमार हुमागाईंले बताए । ‘विगतमा दैनिक सरदर एक–दुई ट्रक चिया निकासी हुन्थ्यो, चार दिनदेखि एक किलो पनि निकासी भएको छैन ।’ उनले भने, ‘नेपाली चिया निर्यातका लागि भन्सार कार्यालयमा फर्म नै आएको छैन ।’
नयाँ व्यवस्थाअनुसार प्रतिनमुना ११ हजार १२० भारतीय रुपैया शुल्क लाग्नेछ । नमुना असफल भए पुनः परीक्षणका लागि थप १५ हजार खर्चिनुपर्ने हुन्छ । यदि भन्सार वा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले पहिले नै नमुना लिइसकेको अवस्थामा भने पुनः नमुना लिइनेछैन । यसले निर्यात लागत ह्वात्तै बढाउँछ ।
वार्षिक सरदर झन्डै चार अर्ब रुपैयाँ मूल्य बराबरको चिया निर्यात हुँदै आएको मेची भन्सार नाकाबाट चार दिनदेखि निर्यात बन्द भएको नेपाल सीटीसी चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताले बताए ।
भारतले लागु गरेको नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत पुग्नुभन्दा अगाडी टि काउन्सिलको पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण जस्ता विस्तृत जानकारी बुझाउनु पर्नेछ । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउने गुप्ताले जानकारी दिए ।
‘कन्टेनरमा गएको चियालाई प्रयोगशालामा लगेर त्यसको रिपोर्ट नआउन्जेल तोकिएको छुट्टै गोदाममा राख्नुपर्नेछ, त्यसको लागि झण्डै २ साता लाग्छ ।’ उनले भने, ‘सो चिया अन्त निर्यात गर्न पनि पाइदैन भारतीय पक्षले निर्णय नलिए सम्म चिया निर्यात गर्न पाइदैन ।’
नेपालबाट चिया बोकेर गएका कन्टेनर भारतीय पक्षले रोकेर नमुना संकलन र गुणस्तर परीक्षण पश्चात् मात्रै निर्यात गर्न पाउने वा नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको उनको भनाई छ ।
‘यो प्रावधान लागू भएपछि नेपालबाट भारततर्फ चिया जानै सक्दैन,’ उनले भने, ‘रिपोर्ट नआउँदासम्म कन्टेनर रोकिन्छ त्यो भनेको निर्यात नै रोकिनु हो ।’

नयाँ व्यवस्थाअनुसार प्रतिनमुना ११ हजार १२० भारतीय रुपैया शुल्क लाग्नेछ । नमुना असफल भए पुनः परीक्षणका लागि थप १५ हजार खर्चिनुपर्ने हुन्छ । यदि भन्सार वा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले पहिले नै नमुना लिइसकेको अवस्थामा भने पुनः नमुना लिइनेछैन । यसले निर्यात लागत ह्वात्तै बढाउने उनी बताउँछन् ।
लागत वृद्धि र ढिलाइका कारण नेपाली चिया भारतीय बजारमा प्रतिस्पर्धी रहन कठिन हुने उनको भनाइ छ । ‘पहिल्यै सस्तोमा बेच्नुपर्ने बाध्यता छ, अब थप खर्चले झन् घाटा बढाउँछ,’ उनले भने ।
पूर्वी नेपालमा खासगरी इलाम, झापा, धनकुटा र पाँचथर जिल्लामा चियाको उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको चियाको ठूलो हिस्सा निर्यातमा निर्भर छ । नेपालमा उत्पादन हुने चिया निकासीको ७० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ र बाँकी अमेरिका, जर्मनी र जापान लगायतका देशमा निर्यात हुने गरेको छ ।
भारतले चिया आयातमा नयाँ व्यवस्था लागू गर्दै नेपाली चियामाथि ‘अघोषित नाकाबन्दी’ लगाउन खोजेको उद्योगीहरुको आरोप छ ।
शुक्रबारदेखि लागू हुने गरी नेपालबाट भारत निर्यात हुने प्रत्येक चियाका कन्टेनर अब अनिवार्य प्रयोगशाला परीक्षणबिना भारत भित्रिन पाउने छैनन् । जसले निर्यात प्रक्रियालाई जटिल, महँगो र ढिलो बनाउने चिया उद्योगी शुक्र दाहालको भनाइ छ ।
उनका अनुसार, नेपाली चियालाई सीमा क्षेत्रमै रोकेर नमुना परीक्षणका लागि कोलकाता पु¥याइन्छ । कोलकाताबाट रिपोर्ट आउन कम्तीमा दुई साता लाग्न सक्छ । रिपोर्ट कुरेर बस्दा १५ दिनसम्म घाम र पानीले चिया बिग्रिन सक्छ, खर्च बढ्छ ।
‘१५ दिनपछि पनि रिपोर्ट पोजिटिभ आउने नआउने टुंगो छैन,’ उनी भन्छन्, ‘रिपोर्टकै आधारमा भित्रन पाउने नपाउने थाहा हुन्छ ।’
नेपालको चिया निर्यात गर्ने प्रमुख गन्तव्य भारत भएकाले नयाँ प्रावधानहरूले नेपाली चिया निर्यातमा बहुआयामिक प्रभाव पार्ने नेपाल निर्यात परिषद्का अध्यक्ष रामशरण थपलियाले बताएका छन् ।
यसले दीर्घकालमा नेपाली चियाको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्छ, तर छोटो अवधिमा भने नष्ट गर्नुपर्दा आर्थिक क्षति बढ्छ ।
उनका अनुसार, प्रत्येक पटक अनिवार्य परीक्षण र शुल्कका कारण निर्यात लागत उल्लेख्य रूपमा बढ्नेछ । यसले साना तथा मध्यम निर्यातकर्तालाई दबाब पार्ने उनी बताउँछन् ।
त्यस्तै, १५–२० दिनसम्मको परिक्षण प्रक्रियाले आपूर्ति शृंखला ढिलो बनाउनेछ, जसले बजारमा समयमै चिया पु¥याउन कठिनाइ हुन सक्ने उनको भनाई छ ।
‘नमुना परीक्षणमा असफल हुने जोखिमका कारण निर्यातकर्ताले गुणस्तर मापदण्ड अझ कडाइका साथ पालना गर्नुपर्नेछ ।’ उनले भने, ‘यद्यपि यसले दीर्घकालमा नेपाली चियाको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्छ, तर छोटो अवधिमा भने नष्ट गर्नुपर्दा आर्थिक क्षति बढ्छ ।’
नेपालले गुणस्तर मापदण्ड, परीक्षण पूर्वतयारी र कागजी प्रक्रिया सुधार गर्न सकेमा यी कडाइहरू अवसरमा पनि रूपान्तरण हुन सक्छन् । तर तत्कालका लागि भने यो नीति नेपाली चिया निर्यातकर्ताका लागि चुनौतीपूर्ण बन्ने जानकारहरु बताउँछन् ।










प्रतिक्रिया