९८ कम्पनीको ६६ अर्ब रुपैयाँ बढीको आईपीओ पाइपलाइनमा, हाइड्रोपावर तर्फ सबैभन्दा बढी


काठमाडौँ । प्राथमिक सेयर बजारमा नयाँ कम्पनीहरूको आकर्षण बढ्दो देखिएको छ । हाल ९८ वटा कम्पनीले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाएका छन् । ती कम्पनीहरूको प्रस्तावित आईपीओको कुल आकार ६६ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

धितापत्र बोर्डका अनुसार ९८ कम्पनीले सर्वसाधारणलाई ४४ करोड २१ लाख ७२ हजार १ सय ३२ कित्ता आईपीओ जारी गर्न अनुमति मागेका हुन् । जसको कुल आकार ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

यसमध्ये उत्पादन तथा प्रशोधनतर्फ २६ कम्पनी ३४ अर्ब २३ करोड ५८ लाख ३५ हजार रुपैयाँ बराबरको १५ करोड ५२ लाख ६० हजार ५ सय २२ कित्ता सेयर निष्कासन गर्ने प्रक्रियामा छन् । ३२ जलविद्युत् आयोजनाबाट १५ अर्ब ५४ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको १५ करोड १९ लाख २६ हजार २ सय ३६ कित्ता सेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन्  ।

त्यस्तै होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९ सय ३० कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् । लगानी समूहअन्तर्गत पाँच कम्पनीले ३ अर्ब ४१ करोड ६० लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १४ लाख ३ हजार ७५ सय कित्ता आईपीओ जारी गर्न आवेदन दिएका छन् ।

तीनवटा माइक्रो इन्स्योरेन्स कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रका १४ कम्पनीले ५ अर्ब ९० करोड ९९ लाख २० हजार रुपैयाँ बराबरको ४ करोड ८६ लाख २१ हजार ६९ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

अनुमतिमा ढिलाई, व्यवसायी असन्तुष्ट

धितोपत्र बोर्ड पुस २०८० मा अध्यक्षविहीन भएपछि आईपीओको अनुमति प्रक्रिया रोकिएको थियो । सरकारले १० मंसिर २०८१ मा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त ग¥यो । करिब डेढ वर्षपछि यही ४ वैशाखमा उनले राजीनामा दिए ।

सेबोनले अधिकांश कम्पनीसँग कम्प्लायन्स रिपोर्ट, सेयर संरचना र मूल्यांकनसम्बन्धी थप विवरण माग गरेकाले अनुमति प्रक्रियामा ढिलाई भएको बताउँदै आएका बोर्डका तत्कालिन अध्यक्षले स्वीकृतिलाई प्राथमिकता दिएनन् ।

उनको कार्यकालमा निकै कम कम्पनीले मात्र सेयर निष्कासन अनुमति पाएको थिए । आईपीओ निष्काशन प्रक्रिया रोकिँदा आफुहरु समस्यामा परेका भन्दै ऊर्जा उत्पादकहरूले सार्वजनिक कार्यक्रम नै गरेर आईपीओ अनुमतिका लागि माग गरेका थिए । उनीहरुले आईपीओ निष्काहनको लागि कमिसन मागेको आरोप लगाएका थिए । उनले अध्यक्ष हुँदा (जुलाई २०२५ मा) आफ्नै लगानी रहेको बुङ्गल हाइड्रोपावरलाई आईपीओ अनुमति दिएको भनेर उनी विवादमा समेत तानिएका थिए ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थालेको थियो ।

उनको कार्यकालमा करिब ४० कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका थिए । राजीनामा दिनुअघि उनले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड लगायतका कम्पनीहरूलाई अनुमति दिएका थिए ।

यता, धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे भने मापदण्डअनुसार सबै कागजात र प्रक्रिया पुगेर आएका कम्पनीले सेयर निष्कासन अनुमति पाइरहेको दाबी गर्छन् । ‘आवश्यक कागजात नपुगेको हकमा बाहेक आईपीओ अनुमतिमा ढिलाइ भएको छैन,’ उनले भने ।

सबैभन्दा धेरै हाइड्रोपावरतर्फका कम्पनीको आईपीओ पाइपलाइनमा

विभिन्न हाइड्रोपावर कम्पनीहरूले स्थानीय तथा सर्वसाधारणका लागि करोडौँ रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति माग्दै आवेदन दिएका छन् ।

पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा ठूलो आईपीओ सिउरी न्यादी पावर लिमिटेडको रहेको छ। कम्पनीले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ, जसको कुल आकार ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढी हुन्छ ।

त्यसपछि युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले १ करोड २३ लाख कित्ता, मेवा डेभलपर्स लिमिटेडले १ करोड १२ लाख कित्ता तथा भिजन इनर्जी एण्ड पावर लिमिटेडले ८३ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेका छन् ।

निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ७९ लाख २० हजार कित्ता, पिपुल्स इनर्जी लिमिटेडले ६६ लाख कित्ता, ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेडले ५८ लाख ३० हजार कित्ता तथा झ्याङलोङ्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५१ लाख कित्ता आईपीओ प्रस्ताव गरेका छन् ।

त्यस्तै हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ लाख १५ हजार कित्ता, म्याग्दी हाइड्रोपावर लिमिटेडले ४७ लाख ४५ हजार कित्ता, साम्युक्ता उर्जा लिमिटेडले ४१ लाख ६० हजार कित्ता, काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले ४१ लाख २५ हजार कित्ता तथा अर्बिट इनर्जी लिमिटेडले ४० लाख कित्ता सेयर निष्कासनको तयारी गरेका छन् ।

आरती पावर कम्पनी लिमिटेडले ३६ लाख कित्ता, नम्बर हिमालय हाइड्रोपावर लिमिटेडले प्रिमियमसहित ३० लाख ६ हजार २ सय २ कित्ता तथा लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले २८ लाख ५ हजार ७ सय ५० कित्ता आईपीओ प्रस्ताव गरेका छन् ।

म्याडम खोला हाइड्रोपावर लिमिटेडले २६ लाख कित्ता, एपेक्स मकालु हाइड्रोपावर लिमिटेड र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले समान २४÷२४ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

यसैगरी पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले २० लाख ७० हजार कित्ता, दूधपोखरी छेपे हाइड्रोपावर लिमिटेडले २० लाख २० हजार कित्ता, हिल्टन हाइड्रो इनर्जी लिमिटेडले १७ लाख कित्ता, रिचेट जलविद्युत कम्पनी लिमिटेडले १६ लाख ८९ हजार ५ सय कित्ता तथा चम्पावती हाइड्रोपावर लिमिटेडले १६ लाख कित्ता आईपीओ ल्याउने तयारीमा छन् ।

ह्याबिटाट पावर कम्पनी लिमिटेडले १४ लाख २० हजार कित्ता, हिम रिभर पावर लिमिटेडले १३ लाख ३० हजार कित्ता, ह्वाइट लोटस पावर लिमिटेडले १२ लाख १९ हजार कित्ता, असुतोष इनर्जी लिमिटेडले १२ लाख कित्ता, फर्पिङखोला हाइड्रोपावर लिमिटेडले १० लाख ७५ हजार कित्ता तथा जुम्ला इनर्जी लिमिटेडले ६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेका छन् ।
सेबोनको पाइपलाइनमा रहेका यी सबै कम्पनीहरूको प्रस्तावित आईपीओ संख्या जोड्दा कुल १५ करोड १९ लाख २६ हजार २ सय ३६ कित्ता पुग्ने देखिन्छ । रकमका हिसाबले यसको आकार १५ अर्ब ५४ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।