काठमाडाैँ । सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने नयाँ नीति अघि सारेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि उत्पादन प्रणालीलाई प्रविधि र एग्रिटेकको प्रयोगमार्फत व्यवस्थित गरी व्यापक रूपान्तरण गरिने बताएका छन् ।
नयाँ योजनाअनुसार कृषि उत्पादनलाई उद्योग, प्रशोधन र बजारसँग सिधै जोडिने उनले बताए । बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने र यस प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइने उनकाे भनाइ छ । किसानले उत्पादनको भुक्तानी सिधै बैंक खातामा प्राप्त गर्ने व्यवस्था मिलाइने सकरकारकाे दाबी छ ।
त्यसैगरी, समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी र सहकारीलाई सहुलियत प्रदान गरिनेछ । किसान सूचीकरण परिचयपत्र र कृषि क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण ऋण र प्रविधिमा पहुँच विस्तार गर्ने सरकारको लक्ष्य छ ।
सरकारले बाँझो जमिनको उपयोग, विषादीको न्यूनीकरण र महिला तथा साना किसानलाई प्राथमिकता दिँदै कृषि क्षेत्रलाई आधुनिक र उत्पादनमुखी बनाउने नीति लिएको छ ।










प्रतिक्रिया