सिटिजन्स बैंकको नेतृत्वमा मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा साढे ७ अर्ब लगानी सम्झौतामा हस्ताक्षर


काठमाडौँ । लमजुङ जिल्लामा निर्माण सुरु भएको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि वैशाख ३० गते बुधबार सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो ।

जसमा विभिन्न सातवटा बैंक तथा वित्तीय संस्थाहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। होटल एभरेष्टमा आयोजित एक विशेष समारोहमा लगानीकर्ता बैंक र प्रवद्र्धक कम्पनीका प्रतिनिधिहरूबीच उक्त सहमति भएको हो।

कुल ११ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा ऋण पुँजीको नेतृत्व गरिरहेको सिटिजन्स बैंकले जलविद्युत क्षेत्रमा आफ्नो दरिलो उपस्थिति देखाएको छ। आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत अर्थात् ३ अर्ब ८० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपुँजी औ(इक्विटी) मार्फत जुटाउनेछ। यो आयोजनालाई ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कार्यलाई तीव्रता दिएर ३० महिनाभित्रै राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरिएको छ।

मर्स्याङ्दी नदीको बहावमा आधारित यस आयोजनाबाट उत्पादित विद्युत उदीपुर सब(स्टेशनमार्फत राष्ट्रिय ग्रीडमा प्रवाह गरिनेछ। सिटिजन्स बैंकको यो नेतृत्वदायी लगानीसँगै आयोजनाको वित्तीय जोखिम अन्त्य भएको छ भने स्वदेशी पुँजीमार्फत ठूला जलविद्युत आयोजना निर्माण गर्ने राष्ट्रिय लक्ष्यमा टेवा पुगेको छ। आयोजनाको विद्युत खरिद(बिक्री सम्झौता यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग सम्पन्न भइसकेकाले अब भौतिक निर्माणको कामले पूर्ण गति पाउने देखिएको छ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्पत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।